गोर्खा जनपुस्तकालय खरसाङको वार्षिक साधारण सभा अनि चुनाउ सम्पन्न
गोर्खा जनपुस्तकालय खरसाङको वार्षिक साधारण सभा अनि चुनाव कार्यक्रम सम्पन्न


खरसाङ, 19 जुलाई (हि.स.)। भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो साहित्यिक र सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङको वार्षिक साधारण सभा तथा चुनाउ सम्पन्न भएको छ। उक्त सभा दुई चरणमा सम्पन्न भयो। पहिलो चरणको सभाको अध्यक्षता पुस्तकालयको अध्यक्ष रबीनकुमार प्रधानले गरेको थियो।

यस सभामा पुस्तकालयको सचिव विनोद रसाइलीले सचिवको प्रतिवेदन साथै कोषाध्यक्ष उत्तमकुमार गुरुङले दुई वर्षको आय व्ययको फटवारी प्रस्तुत गरेका थिए। सभामा पुस्तकालयको कार्यकाल दुई वर्षदेखि बढाएर तीन वर्ष गरिने, मासिक सभालाई द्वय मासिक रुपमा गरिने, धेरैवटा सभामा उपस्थित हुन नसक्ने साधारण सदस्यहरुलाई अन्तिम पटक पत्राचार गरिने र उत्तर नआएको खण्डमा स्वात नाम काटिने आदि निर्णयहरू लिएको बताइएको छ।

दोस्रो चरणको सभा पूर्व प्राध्यापकिका रुकमणि छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा पुस्तकालयको पुरानो कमिटी विघटन गरियो। सभामा चुनाउ अधिकारीहरु वरिष्ठ अधिवक्ता मनिकचन्द्र प्रधान र भीमबहादुर छेत्रीलाई अध्यक्षको बाहुलीबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। सभामा पुस्तकालयको आन्तरिक लेखापालको रुपमा मणिकुमार थापालाई पुनः चयन गरिएको छ भने कानुनी सल्लाहकारको रुपमा वरिष्ठ अधिवक्ता मनिकचन्द्र प्रधानलाई चयन गरियो।

सभामा पुस्तकालयको नयाँ कमिटीको लागि 17 जना कार्यकारी सदस्य सदस्याहरु चयन गरिएको छ भने विनोद रसाइलीलाई संयोजक चयन गरिएको छ। अब आगामी 7 दिनभित्रम यी 17 जनाबाट पुस्तकालयको नयाँ पदाधिकारीहरु चयन गरिने बताइएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande