
गान्तोक, 19 जुलाई (हि.स.)। राजधानीमा पाँच दिवसीय उत्तरपूर्व राष्ट्रिय सेवा योजना (एनएसएस) महोत्सव उत्साहका साथ चलिरहेको छ। महोत्सवमा सिक्किम लगायत उत्तर पूर्वका सबै राज्यका प्रतिनिधिहरू सहभागी छन्। गत 16 जुलाईदेखि शुरु भएको महोत्सव 20 जुलाई, 2026 मा समाप्त हुनेछ।
सहभागी टोलीहरूले 16 जुलाईमा राजधानीको स्वर्ण जयन्ती मैत्रेय मञ्जरी तथा अर्किडेरियमको शैक्षिक भ्रमण गरे। भ्रमणका क्रममा उनीहरूले देशकै सबैभन्दा ठूलो कूल हाउस अर्किडेरियम तथा अर्किड सङ्ग्रहालय अवलोकन गरे। सहभागीहरूलाई सिक्किममा पाइने ५०७ प्रजातिका अर्किडबारे पनि विस्तृत जानकारी प्रदान गरिएको थियो।
दिनको दोस्रो चरणमा सांस्कृतिक आदानप्रदान प्रतियोगिता आयोजना गरियो, जसमा प्रत्येक सहभागी राज्यको टोलीले अर्को राज्यको संस्कृति झल्काउने प्रस्तुति दिएको थियो। प्रतियोगिताको मूल्याङ्कन तालमेल (१०), पोशाक (१०), अभिव्यक्ति (१०), प्रस्तुति (१०) र मञ्च व्यवस्थापन (१०) का आधारमा कुल ५० अङ्कमा गरिएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा अरुणाचल प्रदेशका गोनी बासार, मेघालयका डेमी लामारे, सिक्किमका यासुप, असमकी सृजना हजारिका, त्रिपुराका प्रसञ्जित दास, नागाल्याण्डकी टोकानी तथा मिजोरमका कामडिङ लियाना रहेका थिए।
यससँगै उत्तरपूर्व राष्ट्रिय सेवा योजना महोत्सवको तेस्रो दिनका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। आजको कार्यक्रममा खेलकुद तथा युवा मामिला विभाग र राष्ट्रिय सेवा योजना (एनएसएस) का अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल