
हुगली, 29 जुलाई (हि.स.)। पश्चिम बङ्गालको राजनीतिमा तृणमूल कङ्ग्रेसलाई फेरि अर्को ठूलो झट्का लागेको छ। हुगली जिल्लाको सप्तग्रामबाट तीन पटक विधायक औ दुई पटक मन्त्री रहिसकेका वरिष्ठ नेता तपन दासगुप्ताले तृणमूल कङ्ग्रेसबाट राजीनामा दिएका छन्। उनले सङ्केत दिएका छन्, उनी सक्रिय राजनीतिमा कायम रहेर भविष्यमा भारतीय जनता पार्टी (भाजपा)-मा सामेल हुन सक्नेछन्।
तपन दासगुप्ता पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको चार दशक पुराना राजनीतिक सहयोगीहरूमध्ये एक रहिसकेका छन्। उनले लगभग 40 वर्षसम्म ममता ब्यानर्जीसितै राजनीतिक यात्रा तय गरे। तृणमूल कङ्ग्रेस सरकारमा उनी दुई पटकसम्म मन्त्री रहेका थिए। यस अतिरिक्त उनले पार्टीका प्रदेश उपाध्यक्ष, हुगली जिल्ला तृणमूल अध्यक्ष, फुरफुरा शरिफ विकास प्राधिकरणका अध्यक्ष, पशुपालन विभाग तथा वेस्ट बङ्गाल फरेस्ट डेभलपमेन्ट कर्पोरेशनका अध्यक्ष सहित केही महत्वपूर्ण पदहरूको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
हालैको विधानसभा चुनाउमा पार्टीले उनलाई टिकट नदिएको कारणले नेतृत्वहरूसित उनी रूष्ट भएका थिए। तथापि उनले सार्वजनिक रूपमा कहिल्यै पार्टीको विरोधमा बयान दिएनन्। पछि उनका राजनीतिक प्रतिद्वन्द्वी असित मजुमदारलाई हुगली-श्रीरामपुर सङ्गठनात्मक जिल्ला तृणमूल अध्यक्ष बनाएपछि उनको असन्तुष्टि झन् बढ़्यो।
तृणमूल कङ्ग्रेस छोड़्ने घोषणा गर्दै आइतवार तपन दासगुप्ताले भने, म तृणमूल कङ्ग्रेस गठन भएको पहिलो दिनदेखिनै पार्टीको साथमा थिएँ भने शुरुआती पाँच जना नेताहरूमा मेरो नाम पनि सामेल थियो। यतिका वर्षसम्म विभिन्न जिम्मेवारीहरू निर्वाह गरेपछि मलाई किनारमा पन्साइयो। आज हुगलीको धनियाखाली र चण्डीतलालाई छोड़ेर तृणमूलको जनाधार लगभग समाप्त भइसकेको छ। पार्टी टुक्रिसकेको छ। जनताको विश्वास गुमाइसकेको छ। अब तृणमूल एउटा सानो पार्टी भइसकेको छ। राजनीति व्यवसाय भएपछि कुनै पनि दलको अवस्था यस्तै हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा