
जलपाईगुड़ी, 02 जुलाई (हि.स.)। लगभग चार वर्षको लामो प्रतीक्षा पश्चात फूलबाड़ीमा ग्रामीण रोजगार योजनाको काम फेरि शुरू भएको छ। केन्द्रको ग्रामीण रोजगार योजना ‘विकसित भारत - ग्यारन्टी फर रोजगार एण्ड आजीविका मिशन (ग्रामीण) अन्तर्गत 125 दिने कामको औपचारिक शुरूआत बिहीवारदेखि गरियो।
स्मरण गराइन्छ, यस योजनालाई पहिला सय दिने काम वा मनरेगाको नामले चिनिन्थ्यो। हालैमा यसको नाम परिवर्तन गरेर ‘विकसित भारत - ग्यारन्टी फर रोजगार एण्ड आजीविका मिशन (ग्रामीण) बनाइएको छ। राज्यमा सत्ता परिवर्तन भएपछि नयाँ सरकारले 125 दिनको काम चाँड़ै शुरू गर्ने वाचा गरेको थियो जसलाई सरकार गठन भएको लगभग दुई महिनाभित्रै पूरा गरिएको छ। यसबाट ग्रामीण मजदुरहरूमा आशा जागेको छ साथै क्षेत्रमा हर्ष व्याप्त भएको छ। बिहीवार फूलबाड़ी एक नम्बर ग्राम पञ्चायत क्षेत्रबाट यस परियोजनाको औपचारिक शुरूआत भयो। दुलाल मुखर्जीको घरदेखि सञ्जय कर्मकारको घरसम्म कम्युनिटी ड्रेन निर्माणको कार्य शुरू गरियो। यस परियोजनाको अनुमानित लागत 95 हजार 665 रुपियाँ तय गरिएको छ।
यस अवसरमा 27 जना ग्रामीण मजदुरहरूको उपस्थितिमा रिबन काटेर तथा नरिवल फुटाएर यस कार्यको शुभारम्भ गरियो।
उद्घाटन समारोहमा ग्राम पञ्चायत सदस्य सपना राय सिंह, समाजसेवी राहुल बर्मन, सूर्य मल्लिक, मामनी दास, उत्तम सरकार, दयाल राय सहित केही मानिसहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा