१५ दिने लेप्चा परम्परागत लोकवाद्य निर्माण कार्यशाला सफलतापूर्वक सम्पन्न
लेप्चा परम्परागत वाद्यवादनका साथ अतिथिहरु


गान्तोक, 02 जुलाई (हि.स.)। सिक्किमिज लेप्चा कल्चरल एसोसिएसन (एसएलसीए) द्वारा आयोजित १५ दिने परम्परागत लेप्चा लोकवाद्य ‘तुङबुक’ र ‘सुत्साङ’ निर्माण कार्यशाला 30 जून, २०२६ मा गान्तोकको डेभलपमेन्ट एरियास्थित कुर्मोम लीमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यशालालाई सिक्किम सरकारको कला, संस्कृति तथा सम्पदा विकास बोर्डले प्रायोजन गरेको थियो।

लेप्चा समुदायको समृद्ध सांगीतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यशालामार्फत परम्परागत ज्ञान तथा स्वदेशी लोकवाद्य निर्माणसम्बन्धी व्यावहारिक सीप सहभागीहरूलाई प्रदान गरिएको थियो। विशेषगरी युवा पुस्तालाई तुङबुक र सुत्साङ जस्ता परम्परागत लोकवाद्य निर्माणकलासँग परिचित गराउँदै यसलाई संरक्षण गर्ने अवसर उपलब्ध गराइएको थियो।

कार्यशालाको सञ्चालन प्रतिष्ठित उस्ताद बिस्मिल्लाह खाँ युवा पुरस्कार (२०११) प्राप्तकर्ता गुरु मिक्मा छिरिङ लेप्चाले गरेको थियो भने उनलाई पिन्त्सोक देछेन लेप्चाले सहयोग गरेको थियो।

समापन समारोहमा सिक्किम सरकारको कला, संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोर्ड सदस्य तेन्जिङ ग्यात्सो लेप्चा, रेन्ज्योङ मूतान्ची रिङमोम कुर्मोमका उपाध्यक्ष तथा संस्कृति विभागका पूर्व निर्देशक सोनाम लेप्चा, सिक्किम सरकारको संस्कृति विभागका प्रमुख इञ्जिनियर रिम्प दोर्जी लेप्चा लगायत अन्य अतिथिहरु उपस्थित थिए।

समापन समारोहको विशेष आकर्षणका रूपमा सिक्किमिज लेप्चा कल्चरल एसोसिएसनका कलाकारहरूले कार्यशालामा निर्माण गरेका नयाँ तुङबुक र सुत्साङ वाद्ययन्त्र प्रयोग गरी सांगीतिक प्रस्तुति दिएका थिए। साथै सहभागीहरूले कार्यशालामा सिकेका सीप प्रदर्शन गर्दै परम्परागत ज्ञान र शिल्पकलाको सफल हस्तान्तरण भएको सन्देश दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उपस्थित विशिष्ट व्यक्तित्वहरूले लेप्चा समुदायको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा सिक्किमिज लेप्चा कल्चरल एसोसिएसनले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनीहरूले आदिवासी तथा मौलिक ज्ञान प्रणालीको अभिलेखीकरण, संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणको आवश्यकतामाथि जोड दिँदै यसबाट लेप्चा परम्परा र सांस्कृतिक पहिचानको निरन्तरता सुनिश्चित हुने विश्वास व्यक्त गरे।

सिक्किमिज लेप्चा कल्चरल एसोसिएसनले यस कार्यशालालाई सफल बनाउन सहयोग पुर्‍याउने सिक्किम सरकारको कला, संस्कृति तथा सम्पदा विकास बोर्ड, स्रोत व्यक्तित्वहरू, विशिष्ट अतिथिहरू, सहभागीहरू तथा सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande