
गान्तोक, 02 जुलाई (हि.स.)। गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलले आज सिक्किमको दुईदिने औपचारिक भ्रमणका क्रममा आज नथुला पास भ्रमण गर्यो। प्रतिनिधिमण्डलको नेतृत्व राज्यसभाका सांसद तथा समितिका सभापति डा. राधा मोहन दास अग्रवालले गरेको थियो।
नथुला पासमा प्रतिनिधिमण्डललाई ब्ल्याक क्याट डिभिजनका जनरल अफिसर कमान्डिङ (जीओसी) मेजर जनरल आशिष नेगी, भीएसएमले स्वागत गरे। त्यसपछि प्रतिनिधिमण्डलले भारतीय सेनाका वरिष्ठ अधिकृतहरूसँग अन्तरक्रिया गर्दै सीमाना व्यवस्थापन तथा राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयमा विस्तृत जानकारी प्राप्त गर्यो।
यस क्रममा सीमाना व्यवस्थापन, नियन्त्रित सीमापार आवतजावत, मानव बेचबिखन रोकथामका उपाय, सञ्चार तथा कनेक्टिभिटी, नागरिक-सैन्य समन्वय, पूर्वाधार विकास तथा क्षेत्रको प्रभावकारी प्रशासन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न गरिएका समन्वित प्रयासबारे जानकारी गराइएको थियो।
भारतीय सेनाको व्यावसायिकता, कार्य सञ्चालनका लागि रहेको तयारी तथा विशिष्ट सेवाबारे पनि प्रतिनिधिमण्डललाई अवगत गराइयो। साथै, नथुला क्षेत्रको रणनीतिक महत्त्व तथा कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद राष्ट्रको सीमाको सुरक्षाप्रति भारतीय सेनाको निरन्तर प्रतिबद्धताबारे पनि जानकारी दिइयो।
नथुला भ्रमणपछि प्रतिनिधिमण्डलले उत्तरपूर्वी क्षेत्र विकास मन्त्रालयका प्रतिनिधिहरू, राज्य सरकारका वरिष्ठ अधिकारीहरू तथा सार्वजनिक क्षेत्रका ब्याङ्कका प्रतिनिधिहरूसँग थप छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल