
जलपाईगुड़ी, 02 जुलाई (हि.स.)। जिल्लाको धूपगुड़ी महकुमा अन्तर्गत मागुरमारी-2 ग्राम पञ्चायतको जलढाका गिरिबर प्राथमिक विद्यालयमा बिहीवार कक्षा सञ्चालन भइरहेको समयमै अचानक स्कूल भवनको छतको एक भाग झऱ्यो। शिक्षिकाको तत्परताले चार जना विद्यार्थीहरूको ज्यान भाग्यले बच्यो। घटनापछि विद्यालय परिसरमा अभिभावकहरूले प्रशासनको विरोधमा व्यापक विरोध प्रदर्शन गरे।
प्राप्त जानकारी अनुसार बिहीवार कक्षा सञ्चालन भइरहेको थियो, यसै बेला अचानक कक्षाको छतबाट कङ्क्रिटको एउटा ठूलो भाग भत्केर तल झऱ्यो। स्थितिको गमभीरतालाई मध्यनजर गर्दै कक्षामा उपस्थित शिक्षिकाले तत्काल नानीहरूलाई सुरक्षित स्थानमा पुऱ्याइन्। उनको बुद्धिमताको कारणले ठूलो घटना हुनदेखि बच्यो।
विद्यालयकी शिक्षिकाको आरोप छ, स्कूल भवन पछिल्लो लामो समयदेखिकै जर्जर अवस्थामा रहेको छ। यसअघि पनि छतबाट स-सानो कङ्क्रिटका टुक्राहरू झर्दै आएको छ। यस सम्बन्धमा कैयौं पटक लिखित रूपमा स्कूल निरीक्षक कार्यालय औ सम्बन्धित अधिकारीहरूलाई अवगत गराइसकिएको भए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन।
घटनाको सूचना पाएर ठूलो सङ्ख्यामा अभिभावकहरू विद्यालयमा पुगे अनि प्रशासनको कथित लापरवाहीविरूद्ध प्रदर्शन गर्न शुरू गरे। उनीहरूको भनाइ थियो, यदि यस दुर्घटनामा कुनै विद्यार्थीको ज्यान गएको भए यसको जिम्मेवार कसले लिन्थ्यो?
धूपगुड़ीका बीडीओ सोमनाथ हलदारले बताए, सम्पूर्ण मामिलाको जानकारी स्कूल निरीक्षकलाई दिइएको छ। उनले भने, घटनाको जाँच गरिरहेको छ। जाँच रिपोर्टको आधारमा स्कूल भवनको मरम्मत एवं आवश्यक प्रशासनिक कारबाही शीघ्र गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा