जीटीएमा भएको कथित घोटलाको जाँचको माग गर्दै गोजमुमोद्वारा महकुमा शासकलाई ज्ञापन
Memorandum submitted by gjmm


खरसाङ, 02 जुलाई (हि.स.)।जीटीएमा भएको कथित भ्रष्टाचारको छानबीन हुनुपर्छ भन्ने माग गर्दै गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको तर्फबाट महकुमा शासकलाई ज्ञापन पत्र बुझाइएको छ। गोजमुमो खरसाङ महकुमा समितिका सभापति एवं पूर्व सभासद योगेन्द्र राईको अगुवाईमा गोजमुमोको एक प्रतिनिधि टोलीले पूर्व घोषित कार्यक्रम अनुसार जीटीएमा भएको कथित भ्रष्टाचार विरूद्ध कार्वाहीको माग गर्दै महकुमा शासकलाई ज्ञापन पत्र बुझाएको छ।

उक्त टोलीले खरसाङ महकुमा शासकको अनुपस्थितिमा डेपुटी मजिस्ट्रेटलाई ज्ञापन पत्र बुझाए। ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सभापति राईले भने, हामीले जीटीएमा भएको घोटाला विरुद्ध महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छौं। कहाँ र कसरी घोटाला भएको छ भन्ने विषयमा महकुमा शासकलाई विस्तृत जानकारी गराएका छौं।

उनले यो ज्ञापन पत्रको प्रतिलिपि दार्जिलिङ जिल्ला शासक र जीटीएको मुख्य सचिवलाई पनि पठाउने जानकारी गराए। उनले जनताको पैसा र यसमाथि भएको घोटालाको जाँच हुनुपर्छ भनी बताए। उनले जीटीएमा भएको घोटाला विरुद्धमा जाँच भएन भने गोजमुमो रिले अनशनमा पनि बस्ने बताए।

उनले जीटीएमा हर घर जल योजना, अमृत जल योजना, प्रधानमन्त्री आवास योजना, प्रधानमन्त्री ग्राम सडक परियोजना, आईआरडीएफ लगायत विभिन्न सरकारी योजनाहरुमा घोटाला भएको आरोप लगाउँदै यसको झट्टै जाँच हुनुपर्छ भनी माग गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande