
गान्तोक, 20 जुलाई (हि.स.)। दक्षिण सिक्किमको समरदोङस्थित एनएचपीसीको एउटा सुरुङभित्र भएको घटनामा राहत एवं उद्धारकार्य जारी रहेको छ। सुरुङभित्र लगभग 27 जना मानिसहरू फसेको हुन सक्ने बताइएको छ।
नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङले घटनाबारे जानकारी दिॅंदै भनिन्, लगभग 27 जना मजदुर सुरुङभित्र फसेको आशंका हुन सक्छ। तर सुरुङभित्रको अवस्थाबारे पूर्ण जानकारी नआएकाले वास्तवित सङ्ख्या अझै पुष्टि हुन सकेको छैन। उनले अहिले राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) को टोलीले सुरुङभित्र प्रवेश गरी उद्धारकार्य थालेको बताइन्। उनले एनडीआरएफको टोली बाहिर फर्किएपछि मात्रै सुरुङभित्र कति मजदुर छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने बारे स्पष्ट जानकारी प्राप्त हुने बताइन्।
जिल्लापालले भनिन्, कम्पनी प्रतिनिधिहरूका अनुसार सुरुङभित्र काम गरिरहेका मजदुरहरूले विस्फोट जस्तो आवाज सुनेको थिए। त्यसपछि केही मजदुरहरू दौडँदै सुरुङबाट बाहिर निस्कन सफल भए भने अन्य केही मजदुर सुरुङभित्रै फसेका छन्। उद्धार तथा राहतकार्य हाल जारी छ र अहिलेसम्म कसैलाई पनि सुरुङबाट निकालिएको छैन। उनले प्रशासन, पुलिस तथा आपतकालीन सेवा सुरुङस्थलमा उपस्थित रहेको र सबै मजदुरलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास लगातार भइरहेको बताइन्।
उल्लेखनीय छ, समरदोङस्थित एनएचपीसीको एउटा सुरुङभित्र सोमवार दिउॅंसो अचानक कथित ग्यास लिकको मामिला अघि आयो। यस घटनापछि सुरुङभित्र काम गरिरहेका मानिसहरू फसेका छन् भने उनीहरूको उद्धारका लागि सम्बन्धित निकायहरू खटिएका छन्। यद्यपि, अझै पनि सुरुङभित्र के भएको थियो र हाल त्यहॉं कति जना फॅंसेका छन् भन्ने स्पष्ट हुन सकेको छैन।
हिन्दुस्थान समाचार / बिशाल