चार दिवसीय बजेट अधिवेशन शुरू, मुख्यमन्त्रीले वित्तीय वर्ष 2026-27 का लागि साधारण बजेट पेश गरे
चार दिवसीय बजेट अधिवेशन शुरू


गान्तोक, 20 जुलाई (हि.स.)। सिक्किम विधानसभाको चार दिवसीय बजेट अधिवेशन सोमवारदेखि शुरू भएको छ। अधिवेशनको पहिलो दिन राज्यपाल ओमप्रकाश माथुरले सदनमा आफ्नो बजेट अभिभाषण प्रस्तुत गरे भने मुख्यमन्त्री प्रेमसिंह तामाङले वित्तीय वर्ष 2026-27 का लागि बजेट पेश गरे। यस अतिरिक्त, सदनमा आज छवटा विधेयक पेश गरिएको छ।

मुख्यमन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री प्रेमसिंह तामाङले चार दिवसीय बजेट अधिवेशनको आज पहिलो दिन वित्तीय वर्ष 2026-27 का लागि साधारण बजेट पेश गरे। बजेट प्रस्तुत गर्दै मुख्यमन्त्रीले वित्तीय वर्ष 2026-27 का लागि 19,215 करोड़ रूपियाँको कुल खर्च प्रस्ताव गरे, जसमा रिकभरीलाई घटाउॅंदा शुद्ध खर्च 18,455 करोड़ रूपियॉं हुनेछ।

मुख्यमन्त्रीले सदनमा दुईवटा विधेयक पनि पेश गरे। पहिलो, राष्ट्रिय सीप शिक्षा परिषद्, सिक्किम (खारेजी) विधेयक, 2026 रहेको छ, जसमाथि मंगलवार सदनमा चर्चा हुनेछ। दोस्रो सिक्किम अग्नि एवं आपतकालीन सेवा (संसोधन) विधेयक, 2026 रहेको छ, जसमाथि बुधवार चर्चा हुनेछ।

यसैगरी, शिक्षा विभाग मन्त्री राजु बस्नेतले तीनवटा विधेयक पेश गरेका छन्। यी विधेयकहरू सिक्किम निजी विश्वविद्यालय (स्थापना र नियमन)(संसोधन) विधेयक, 2026, खुल्ला विद्यालय तथा सीप शिक्षा बोर्ड सिक्किम (संसोधन) विधेयक, 2026 र खुल्ला विद्यालय तथा व्यावसायिक शिक्षा बोर्ड, सिक्किम विधेयक, 2026 हुन्। उक्त विधेयकहरूमाथि 22 जुलाईका दिन सदनमा चर्चा हुनेछ।

यस अतिरिक्त, स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेलले सिक्किम मेडिकल काउन्सिल फर् इन्डियन सिस्टम अफ् मेडिसिन बिल, 2026 पेश गरे। उक्त विधेयकमाथि 21 जुलाईमा सदनमा चर्चा हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande