2026-27 को बजेट 'सुनौलो, समृद्ध र समर्थ सिक्किम' को लागि मार्गचित्र: राज्यपाल
बजेट अधिवेशनलाई सम्बोधन गर्दै राज्यपाल।


गान्तोक, 20 जुलाई (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरले बजेट 2026-27 लाई 'सुनौलो, समृद्ध र समर्थ सिक्किम' को लागि मार्गचित्र बताएका छन्। उनले सरकार सन्तुलित आर्थिक वृद्धि, पर्यावरण संरक्षण, रोजगारी सिर्जना, महिला सशक्तिकरण र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनी आजदेखि शुरू भएको सिक्किम विधानसभाको चार दिवसीय बजेट अधिवेशनमा बोल्दै थिए।

आफ्नो बजेट अभिभाषण राख्ने क्रममा राज्यपालले सिक्किमका जनतालाई राज्य स्थापनाको ५० वर्ष पूरा भएकोमा बधाई दिॅंदै स्वर्ण जयन्ती समारोहमा राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिको भ्रमणको महत्त्वमाथि प्रकाश पारे। उनले सिक्किमलाई पूर्ण साक्षर राज्य घोषणा, सिक्किम पुलिसलाई प्रेसिडेन्ट्स कलर प्रदान, आमा दिदी बाहिनी पिङ्क बस सेवाको शुरुवात र भारतको पहिलो कागजविहीन न्यायपालिकाको रूपमा मान्यता जस्ता प्रमुख उपलब्धिहरूको उल्लेख गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा रहेको राज्य सरकारलाई यी उपलब्धिहरू र सिक्किमको समग्र विकासप्रतिको प्रतिबद्धताको लागि पनि बधाई दिए।

राज्यपालले बजेटलाई उल्लेख गर्दै यसले पर्यटन, जैविक कृषि, बागवानी, पूर्वाधार र कनेक्टिभिटीमा बढ्दो लगानी मार्फत सिक्किमको लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ, साथै विकसित भारतको राष्ट्रिय दृष्टिकोणलाई समर्थन गर्ने बताए। राज्यको आर्थिक प्रगतिलाई प्रकाश पार्दै उनले भने, सिक्किमको कुल राज्य घरेलु उत्पादन २०२६-२७ को लागि ६२,९७३ करोड रूपियॉं अनुमान गरिएको छ, जसले हालका वर्षहरूमा उल्लेखनीय वृद्धिलाई प्रतिबिम्बित गर्दछ। उनले पूँजीगत खर्च ५,००० करोड रूपियॉंभन्दा बढी हुने अपेक्षा गरिएको बताए, जसले पूर्वाधार आधारित विकासमा सरकारको ध्यानलाई प्रतिबिम्बित गर्दछ।

राज्यपालले आफ्नो सम्बोधनमा सरकारले गरेका प्रमुख पहलहरूमाथि प्रकाश पारेका थिए, जसमा सिक्किम सरकारी मेडिकल कलेजको स्थापना, राज्यव्यापी एचपीवी जॉंच, मिर्गौला प्रत्यारोपण कार्यक्रम, जलवायु प्रतिरोधी सडक पूर्वाधार, महिला सशक्तिकरण योजनाहरू र राज्यको सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उपायहरू सामेल थिए।

उनले विगत तीन वर्षमा राज्यको आत्महत्या दरमा गिरावट आएको पनि उल्लेख गर्दै यसको श्रेय दिगो मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम हस्तक्षेपलाई दिए। उनले शिक्षा, स्वास्थ्य सेवा, पर्यटन, उद्यमशीलता, सीप विकास, पर्यावरण संरक्षण र महिला सशक्तिकरणलाई सुदृढ पार्ने सरकारको प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

राज्यपालले बजेट सत्रले २०४७ सम्ममा विकसित भारतको राष्ट्रिय दृष्टिकोणमा योगदान पुर्‍याउँदै समृद्ध, लचिलो र समावेशी सिक्किम निर्माण गर्ने राज्यको प्रतिबद्धतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande