नेपाली विभागद्वारा रमाइलो रोपाइँ कार्यक्रम सम्पन्न
नेपाली विभागद्वारा रमाइलो रोपाइँ कार्यक्रम सम्पन्न


तादोङ, 20 जुलाई (हि.स.)। राजधानीको तादोङस्थित नरबहादुर भण्डारी सरकारी महाविद्यालयको नेपाली विभागले पाँचौँ सत्रका नेपाली सम्मानका विद्यार्थीहरूका लागि परम्परागत कृषि संस्कृतिसँग परिचित गराउने उद्देश्यले नाम्ची जिल्लाअन्तर्गत आज तल्लो तार्कू खेतमा 'रमाइलो रोपाइँ' कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा विभाग प्रमुख डर. उदय छेत्री तथा वरिष्ठ प्राध्यापक प्रा डा. गीता निरौलाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई जैविक खेतीको महत्त्व, कृषि सीपको प्रत्यक्ष अवलोकन तथा अभ्यास, साथै पारम्परिक खेतीसँग जोडिएका सामाजिक, सांस्कृतिक तथा व्यवहारिक पक्षबारे जानकारी गराइयो।

कार्यक्रमको थालनी परम्पराअनुसार खेत पस्नुअघि खर्चका रूपमा दही, चिउरा, केरा र गुँड खाएर गरिएको थियो। त्यसपछि विद्यार्थीहरूलाई बाउसे, रोपार, हली, दँतेरे, बिउ उखेल्ने तथा फ्याउरी लगाउनेलगायत विभिन्न समूहमा विभाजन गरी धान रोपाइँको प्रत्यक्ष अभ्यास गराइयो। केही विद्यार्थीहरू भने खेतमै अरनी तयार गर्न भान्सेका रूपमा खटिएका थिए।

रोपाइँका क्रममा गाउँका वरिष्ठ महिला तथा पुरुष सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। पुरुष सदस्यहरूले दाँदे, फ्याउरी, चम्कोदाली, कोदालीको प्रयोग तथा हलो चलाउने सीप सिकाएका थिए भने महिला सदस्यहरूले धानको बिउ सही ढङ्गले रोप्ने विधि, रोपाइँ गीत, स्थानीय पानीका मुहानको संरक्षण तथा खेतीपातीको महत्त्वबारे आफ्ना अनुभव र ज्ञान विद्यार्थीहरूसँग साझा गरेका थिए।

यस कार्यक्रमको परिकल्पना नेपाली विभागका सहायक प्राध्यापक डा. टेकबहादुर छेत्रीले गरेका हुन्। उनकै अगुवाइमा नेपाली विभागले प्रत्येक वर्ष यस प्रकारको रमाइलो रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ।

कार्यक्रमपछि आफ्नो अनुभव व्यक्त गर्दै विद्यार्थी अनुप र पुकारले घरमा खेतीपातीको काम गर्ने गरेको भए पनि साथीहरूसँग सामूहिक रूपमा रोपाइँमा सहभागी हुनु अत्यन्तै रमाइलो र सिकाइपूर्ण अनुभव भएको बताए। विद्यार्थी कौशिल्या र बबिताले आफूहरूका लागि यो नौलो अनुभव भएको उल्लेख गर्दै खेतीपातीको वास्तविक महत्त्व बुझ्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित मुङ्गा राई र दुर्गा पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई ग्रामीण समाजको भावनात्मक एकता, परम्परागत कृषि ज्ञान, सीप तथा संस्कृतिको संरक्षण र हस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको सफल आयोजनाका लागि संयोजक डा. टेकबहादुर छेत्रीले विभागका शिक्षक सीपी राई, डा. शारदा छेत्री, महाविद्यालयका प्राचार्य प्रो. डा. डी पुरोहित तथा वरिष्ठ प्रशासनिक अधिकृत मुन्ना प्रधानप्रति सहयोगका लागि आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande