
गान्तोक, 03 जुलाई (हि.स.)। सिक्किमले सड़क पूर्वाधार विकासमा अर्को महत्त्वपूर्ण फड्को मार्दै करिब 500 करोड़ लागतको 573 किलोमिटर सड़क स्तरोन्नति कार्यक्रमको आधारभूत तयारी शुरु गरेको छ। यससँगै राज्यले गुणस्तरीय, दीर्घकालीन र सुरक्षित सड़क निर्माणतर्फ नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ।
यस अभियानअन्तर्गत सड़कको टिकाउ, सहज यात्रा अनुभव तथा दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्न मास्टिक एस्फाल्ट प्रविधि अपनाउने विषयमा सड़क तथा पुल विभागले विस्तृत प्राविधिक समीक्षा सम्पन्न गरेको छ। सड़क तथा पुल विभागका मन्त्री एनबी दाहालको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकमा राज्यका सबै जिल्लाका वरिष्ठ अभियन्ता तथा प्राविधिक अधिकारीहरूको सहभागिता रहेको थियो।
विशेषगरी शहरी क्षेत्र अत्यधिक सवारी चापका कारण सवारीसाधन ढिलो गतिमा चल्ने भएकाले सड़कमा परम्परागत अलकत्रभन्दा मास्टिक एस्फाल्ट बढ़ी टिकाउ, कम मर्मत आवश्यक पर्ने र दीर्घकालीन रूपमा लागतसमेत बचत गर्ने भएकाले यसको प्रयोग विस्तार गर्ने रणनीति बनाइएको छ। सिक्किमको पहाड़ी भू-भाग, भारी वर्षा र विविध मौसमलाई ध्यानमा राखेर यसको उपयुक्ततामाथि गहन अध्ययन गरिएको विभागले जनाएको छ।
बैठकमा अतिरिक्त मुख्य अभियन्ता सौरभ टी. लेप्चाले मस्टिक एस्फाल्टको प्राविधिक विशेषता, कार्यान्वयन रणनीति तथा यसको दीर्घकालीन लाभबारे विस्तृत प्रस्तुति दिएका थिए। मन्त्री एनबी दाहालले गुणस्तरीय सड़क निर्माणका लागि राम्रो अलकत्र मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रभावकारी ढल निकास, कल्भर्ट, रिटेनिङ वाल तथा अन्य संरचनात्मक पूर्वाधार पनि उत्तिकै आवश्यक रहेको बताए।
उनले यस वर्षको वर्षायाममा अघिल्ला वर्षहरूको तुलनामा राज्यका अधिकांश प्रमुख सड़क सञ्चालनमा रहनु सकारात्मक उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय निर्माण र समयमै मर्मतसम्भारमा जोड़ दिन निर्देशन दिए। बैठकमा सड़क विस्तार, स्तरोन्नति, पुल निर्माण, रिटेनिङ वाल, भूमि क्षतिपूर्ति, वन स्वीकृति, बजेट व्यवस्थापन तथा शीघ्र सम्पन्न गरिनुपर्ने योजनाहरूको समीक्षा गरिएको थियो। साथै एस टर्निङ, 20 माइलमा सुरुङ परियोजना र चान्दमारी सड़क पुनर्स्थापना जस्ता महत्त्वपूर्ण परियोजनालाई प्राथमिकताका साथ अघि बढ़ाउने निर्णय गरिएको छ।
चान्दमारी सड़क पुनर्स्थापनामा सड़क तथा पुल विभागले आवश्यक सामग्री र उपकरण उपलब्ध गराएको तथा बीआरओले अतिरिक्त मेसिनरी र जनशक्तिमार्फत सहयोग गरेको जानकारी पनि दिइएको छ। विभागका अनुसार 573 किलोमिटर सड़क स्तरोन्नति पाँच एए ठेकेदारमार्फत करिब 48 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनामा सात वर्षसम्मको मर्मतसम्भार दायित्व सम्बन्धित निर्माण कम्पनीकै रहने व्यवस्था गरिएको छ जसले सड़क गुणस्तर दीर्घकालसम्म कायम राख्न सहयोग गर्ने विश्वास गरिएको छ।
सिक्किम सरकारले अघि सारेको यो महत्त्वाकांक्षी योजना सड़क निर्माण कार्यक्रमसँगै राज्यको आर्थिक विकास, पर्यटन प्रवर्द्धन, सुरक्षित यातायात र दिगो पूर्वाधार निर्माणतर्फको दूरदर्शी कदम रहेको बताइएको छ। यसले आगामी वर्षहरूमा सिक्किमको समग्र विकास यात्रालाई अझ तीव्र र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल