
सिलगढ़ी, 03 जुलाई (हि. स.)। मुख्यमन्त्रीको उत्तर बङ्गाल दौड़ाह भइरहेको समयमा सिलगढ़ीमा आयोजित एक प्रेस कन्फ्रेन्समा माकपाका राज्य सचिव मोहम्मद सलिमले शुक्रवार केन्द्र अनि राज्य सरकारमाथि कटाक्ष गरेका छन्।
उनले देशको खस्किँदो आर्थिक स्थिति तथा बढ़्दो महँगीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश यात्रामाथि कटाक्ष गर्दै भने, आम जनतामाथि बोझ थपेर बड़े-बड़े उद्योगपतिहरूलाई फाइदा पुऱ्याइरहेको छ। उनले डलरको तुलनामा रुपियाँको घट्दो मूल्य तथा दैनन्दिन जीवनका आवश्यक वस्तुहरूको बढ़्दो मूल्यमाथि गहिरो चिन्ता व्यक्त गरे।
मोहम्मद सलिमले मिड-डे मीलमा सोयाबिनको उपयोगलाई लिएर पनि केन्द्र सरकारको नीतिको कड़ा आलोचना गरे। साथै देशभरि नै भइरहेको ‘बुलडोजर नीति’-माथि प्रश्न उठाउँदै उनले आरोप लगाए, अवैध अतिक्रमणलाई हटाउने नाममा परिश्रमी मानिसहरूको आजीविका खोसिरहेको छ।
उनले उत्तर बङ्गालका बन्द चिया कमानहरूलाई चाँड़ै खोल्ने माग गर्दै भने, यसबाट हजारौं श्रमिकहरूले रोजगार पाउनेछन्। सलिमले सरकारसित यस दिशामा तत्काल ठोस कदम उठाउने अपील गरे।
तथापि उनले नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीको उत्तर बङ्गाल दौड़ाहलाई सकारात्मक कदम बताउँदै भने, आम मानिसहरूक समस्या सुन्नका लागि नियमित रूपमा क्षेत्रको दौड़ाह गरिनुपर्छ।
यता पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई लक्षित गर्दै उनले भने, उनको दौड़ाह अधिकांश औपचारिक मात्र रह्यो त्यसबाट कुनै ठोस परिणाम निक्लेन।
सलिमले शिक्षा क्षेत्रमा कथित भ्रष्टाचार समेत तृणमूल शासनकालका विभिन्न मामिलाहरूमा श्वेत पत्र जारी गर्ने माग गर्दै दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा