

गान्तोक, 03 जुलाई (हि.स.)। नेपाली साहित्य परिषद्, सिक्किमले भानु जयन्तीको अवसरमा प्रदान गरिने भाषा गौरव सम्मान 2026 गेजिङ जिल्ला निवासी टाशी भोटिया र पाकिम जिल्ला निवासी नीम दोर्जी लेप्चालाई प्रदान गर्ने घोषणा गरेको छ।
शुक्रबार नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेलले भोटिया भाषा-साहित्यमा योगदान पुर्याएका टाशी भोटिया र लेप्चा भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान दिएका नीम दोर्जी लेप्चालाई 2026 को भाषा गौरव सम्मान प्रदान गरिने जानकारी दिएका हुन्।
उक्त सम्मान आगामी 13 जुलाई, 2026 मा गान्तोकमा आयोजना गरिने 212औं भानु जयन्ती समारोहका अवसरमा प्रदान गरिनेछ। यसअघि परिषद्ले यस वर्षको भानु पुरस्कार सोरेङ निवासी सुकराज सुब्बालाई प्रदान गर्ने घोषणा गरिसकेको छ।
नेपाली साहित्य परिषद्, सिक्किमले भानु जयन्तीको अवसरमा प्रत्येक वर्ष भाषा, साहित्य, संगीत, नाटक, पत्रकारिता, चित्रकला तथा नृत्य क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सेवाश्री सम्मान प्रदान गर्दै आएको छ।
यस वर्ष भाषा विधाबाट कमल काफ्ले र एसएम बस्नेतलाई भाषा सेवाश्री सम्मान प्रदान गरिनेछ भने साहित्य विधाबाट जयदीप सुब्बालाई साहित्य सेवाश्री सम्मान प्रदान गरिने अध्यक्ष ढुङ्गेलले जानकारी दिए।
संगीत विधाबाट जीवन शर्मा र राकेश कार्की ढोलीलाई सेवाश्री सम्मान प्रदान गरिनेछ। नाट्य क्षेत्रबाट पुरणदीप शर्मा तथा रेवती लेप्चाको नाम सेवाश्री सम्मानका लागि घोषणा गरिएको छ।
सिक्किमको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका धिरज बान्तावा र कविता शर्मालाई यस वर्षको पत्रकारिता सेवाश्री सम्मान प्रदान गरिनेछ। चित्रकारिता सेवाश्री बीके सुब्बा र नृत्य विधाबाट भने अनु प्रधानलाई सेवाश्री सम्मान प्रदान गरिने भएको छ।
परिषद्ले यस वर्षको भानु जयन्ती “भाषा हाम्रो सभ्यता : भेषभूषा हाम्रो संस्कृति” भन्ने मूल नारासहित आयोजना गर्न लागेको जनाएको छ। परिषद्का अनुसार, 13 जुलाई, 2026 का दिन कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा गान्तोकस्थित भानु उद्यानमा आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पण गरिनेछ। दोस्रो चरणमा भानु पुरस्कार प्रदान गरिनुका साथै लेप्चा र भोटिया भाषा-साहित्यका मर्मज्ञहरूलाई भाषा गौरव सम्मानद्वारा अलङ्कृत गरिनेछ। यसै अवसरमा विभिन्न क्षेत्रका दक्ष तथा योगदान पुर्याएका प्रतिभाहरूलाई सेवाश्री सम्मान प्रदान गरिने अध्यक्ष हरि ढुङ्गेलले जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल