
सिलगढ़ी, 03 जुलाई (हि.स.)। माटीगाड़ा क्षेत्रमा पछिल्लो लामो समयदेखिकै चलिरहेको अवैध जमीन व्यापार विरूद्ध पुलिसले व्यापक कारबाही गर्दै तीन जनाकथित भू-माफियाहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान रिङ्कू सिंह, राजेश उरावँ औ पङ्कज तामाङको रूपमा भएको छ। यो कारबाही सांसद राजू बिष्टको निर्देश पश्चात तीव्र गतिमा सञ्चालित अभियान अन्तर्गत गरिएको हो।
जानकारी अनुसार माटीगाड़ा क्षेत्रमा लामो समयदेखिकै जमीनमा अवैध रूपमा कब्जा गरी त्यसलाई गैरकानूनी ढङ्गमा किनबेच गरिएको सिकायत आइरहेको थियो। स्थानीय मानिसहरू तथा विभिन्न सङ्गठनहरूले बारम्बार यस मुद्दालाई उठाउँदै आइरहेका थिए। आरोप थियो, क्षेत्रमा सक्रिय भू-माफियाले सर्वसाधारण मानिसहरूलाई ठग्नका साथै जमीनसित सम्बन्धित विवादहरूलाई पनि प्रोत्साहित गरिरहेको थियो।
भाजपाले आरोप लगाएको थियो, पूर्ववर्ती सरकारको समयमा भूमि माफियाहरूको प्रभाव धेरै बढ़ेको थियो जसबाट सर्वसाधारण मानिसहरूमा भय व्याप्त भएको थियो। स्थिति यहाँसम्म पुगेको थियो कि माटीगाड़ा ब्लकमा मानिसहरू जमीन खरिद गर्न हिच्काउन थालेका थिए। राज्यमा भाजपाको सरकार आएपछि दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजू बिष्टले पुलिस अनि प्रशासनलाई भूमि माफियाहरूविरूद्ध कड़ा कारबाही गर्ने निर्देश दिएका थिए। त्यसपछिदेखि नै क्षेत्रमा विशेष अभियान सञ्चालन भइरहेको छ। यसै अभियान अन्तर्गत बिहीवार अबेर राती माटीगाड़ा तथा देवीडाङ्गा क्षेत्रमा छापा मारेर तीन जना आरोपीहरूलाई पक्राउ गरियो।
माटीगाड़ा थानाको पुलिसले बतायो, पक्रा पर्ने आरोपीहरूविरूद्ध विभिन्न धाराहरूमा मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरिएको छ। उल्लेख्य, यसअघि यसै मामिलामा एकजना भूमाफियाकी पत्नीलाई पनि पक्राउ गरिएको थियो। पुलिसलाई शङ्का लागेको छ, वर्तमान मामिला त्यै व्यापक भूमि घोटालासित जोड़िएको हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा