
गान्तोक, 03 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज तुमिन-लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत पर्ने काउ, चौरीडाँडा, डॉंडाखर्का, लिङ्गी तथा छेउछाउका पैह्रो प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गरेको छ। प्रतिनिधिमण्डलले गत 27 जूनमा आएको विनाशकारी प्राकृतिक विपत्तिबाट भएको क्षतिको अवस्था बुझ्न प्रभावित क्षेत्रको भ्रमण गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले घटनास्थलको प्रत्यक्ष निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, प्रभावित परिवार तथा सम्बन्धित अधिकारीहरूसँग भेटघाट गरी उनीहरूले भोगिरहेका तत्कालीन समस्याबारे जानकारी लिएको छ। सम्भावित क्लाउडबर्स्ट (अत्यधिक वर्षा) का कारण आएको विशाल पैह्रोले यस क्षेत्रमा अभूतपूर्व क्षति पुऱ्याएको प्रतिनिधिमण्डलले अवलोकन गरेको छ। लगभग १३ करोड रुपियाँको लागतमा भारत दर्शन कार्यक्रम अन्तर्गत निर्माण गरिएको सम्पूर्ण सप्तकन्या झरना, त्यहाँ रहेको क्याफेटेरिया तथा पर्यटन पूर्वाधार पूर्ण रूपमा बगाएको विज्ञप्तिमा जनाइएको छ।
प्रतिनिधिमण्डलले लिङ्गी-पयोङ क्षेत्रलाई जोड्ने जीवनरेखाका रूपमा रहेको काउ खोलाको पुल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको उल्लेख गर्दै आवतजावत तथा राहत कार्यलाई सहज बनाउन यसको तत्काल पुनःनिर्माण आवश्यक रहेको जनाएको छ। पैह्रोका कारण काउ गाउँ, चौरीडाँडा र डॉंडाखर्का पूर्ण रूपमा बाह्य सम्पर्कविहीन बनेका छन्, जसले स्थानीय बासिन्दाको जनजीवनमा गम्भीर असर पुर्याएको छ। आफ्नो जीविकोपार्जनका लागि सिक्किम मिल्क मा दूध आपूर्ति गर्ने किसानहरू सडक सम्पर्क अवरुद्ध भएपछि सबैभन्दा बढी प्रभावित भएको जानकारी प्रतिनिधिमण्डललाई दिइएको छ।
भाजपा प्रतिनिधिमण्डलले डॉंडाखर्काको पनि भ्रमण गऱ्यो, जहाँ सावधानीका रूपमा १६ परिवारलाई घरबाट सुरक्षित स्थानमा सारिएको छ। उनीहरू हाल दराखर्का प्राथमिक विद्यालयमा अस्थायी रूपमा बसोबास गरिरहेका छन्। भाजपा नेताहरूले उनीहरूको स्वास्थ्य अवस्था र आधारभूत सुविधाबारे जानकारी लिँदै अत्यावश्यक औषधि, खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको सूची तयार गर्न आग्रह गरेका छन्, ताकि भाजपा सिक्किमले तत्काल सहयोग उपलब्ध गराउन सकोस्।
स्थानीयवासीसँगको अन्तरक्रियाका क्रममा प्रभावित क्षेत्रहरू विगत सात दिनदेखि बाह्य सम्पर्कबाट पूर्ण रूपमा विच्छेद भएको र यसका कारण जनजीवन तथा जीविकोपार्जनमा गम्भीर समस्या उत्पन्न भएको जानकारी गराइयो। स्थानीयहरूले सडक सम्पर्क तत्काल पुनःस्थापना गर्न आग्रह गरेका छन्।
स्थानीयवासीको मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रतिनिधिमण्डलले सम्बन्धित महकुमा अधिकारीसँग छलफल गरी सडक पुनःसञ्चालनका लागि आवश्यक मेसिनरी तथा जनशक्ति तत्काल परिचालन गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ। साथै, राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन भाजपा सिक्किमले प्रशासन र प्रभावित नागरिकहरूसँग हरसम्भव सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
भाजपा सिक्किमले प्रभावित परिवारहरूलाई सम्भव भएसम्म सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल