विधानसभा अध्यक्ष शेर्पा दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी
Mn Sherpa


गान्तोक, 03 जुलाई (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पा र सिक्किम विधानसभाका सचिव ललित कुमार गुरुङले पश्चिम बंगाल विधानसभाको १८औँ कार्यकालका नव-निर्वाचित सदस्यहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा सहभागी भए। उक्त कार्यक्रम पश्चिम बंगाल विधानसभा तथा लोकसभा अन्तर्गत पार्लियामेन्टरी रिसर्च एन्ड ट्रेनिङ इन्स्टिच्युट फर डेमोक्रेसीज (प्राइड) को संयुक्त आयोजनामा गरिएको थियो।

दुईदिने कार्यक्रमको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गरेको थियो। उद्घाटन समारोहमा केन्द्रिय मन्त्री किरण रिजिजु, पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, राज्यसभाका उपाध्यक्ष हरिवंश, पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्र बोस आदिको उपस्थिति रहेको थियो।

कार्यक्रमअन्तर्गत सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पाले “संसदमा वित्तीय कार्य तथा बजेट प्रक्रिया” विषयक प्राविधिक सत्रको सह-अध्यक्षता पनि गरेको थियो।

यसै अवसरमा समिति प्रणालीको पुनरावलोकनका लागि पीठासीन अधिकारीहरूको समिति को बैठक पनि सम्पन्न गरियो। बैठकमा समितिका अध्यक्ष तथा मध्य प्रदेश विधानसभाका अध्यक्ष नरेन्द्र सिंह तोमर लगायत अन्यहरू उपस्थित थिए।

बैठकले समिति प्रणालीको पुनरावलोकनका लागि पीठासीन अधिकारीहरूको समिति को अन्तिम प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande