
इटानगर, 04 जुलाई (हि.स.)। अरुणाचल प्रदेश सरकारले तल्लो सियाङ्ग जिल्लाको बाढ़ी तथा पैह्रोको कारणले सम्पर्क विच्छिन्न भएका सुदूरवर्ती गाउँहरूमा आवश्यक खाद्यसामग्री तथा औषधिहरू पुऱ्याउनको लागि शनिवार राज्य सरकारको हेलिकप्टरलाई तैनाथ गऱ्यो। घना वर्षाको कारणले केही गाउँहरूको सड़क सम्पर्क विच्छिन्न भएको छ।
सरकारले पासीघाटदेखि कोयूसम्म हेलिकप्टरको माध्यमबाट राहत सामग्री पुऱ्याउने अभियान शुरू गरेको छ भने रणनीतिक रूपले महत्वपूर्ण अकाजन-लिकाबाली-बामे मार्गमा पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटोहरूलाई हटाएर यातायात बहाल गर्ने कार्यमा प्रशासन जुटेको छ। राहत सामग्रीहरू वितरण गर्न साथै सड़क सम्पर्कलाई चाँड़ै बहाल गर्नको लागि विभिन्न विभागहरूलाई अलर्ट मोडमा राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा