
सोरेङ, 04 जुलाई (हि.स.)। रिन्चेनपोङ निर्वाचन क्षेत्रका विधायक इरुङ तेन्जिङ लेप्चाको निर्देशनमा आज सोरेङ जिल्लाकाे कालुक ब्लक अन्तर्गत देथाङ ग्राम पञ्चायत एकाईको वार्ड नम्बर ०१ सुदुङमा सिक्किम गरिब आवास योजना (एसजीएवाई) अन्तर्गत निर्माण सम्पन्न एक आवासको सफलतापूर्वक उद्घाटन गरिएको छ।
उक्त एसजीएवाई सारथी कोटा अन्तर्गत उगेन टाशी भाेटियाका लागि निर्माण गरिएको बताइएकाे छ।उद्घाटन समारोहमा सिक्किम भूमि उपयोग तथा पर्यावरण बोर्डका अध्यक्ष फुर्बा छिरिङ भाेटिया, देथाङ परेङगाउँका जिल्ला पञ्चायत सदस्य फुर्बा टाशी भाेटिया, खानिसिरबोङ सुन्तालेका जिल्ला पञ्चायत सदस्य देव कुमार मङ्गर, देथाङ जीपीयूका पञ्चायत अध्यक्ष तथा पञ्चायत सदस्यहरू आदि उपस्थित थिए।
लाभार्थी परिवार विगत धेरै वर्षदेखि आर्थिक तथा सामाजिक रूपमा विपन्न अवस्थामा जीवनयापन गर्दै आएको थियो। एसजीएवाई अन्तर्गत स्थायी आवास उपलब्ध भएपछि परिवारको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ। यसले योग्य तथा आवश्यकतामा रहेका परिवारहरूलाई सुरक्षित, सम्मानजनक र स्थायी आवास उपलब्ध गराउने सिक्किम सरकारको अटल प्रतिबद्धतालाई पुनः प्रतिबिम्बित गरेको बताइएकाे छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल