
मङ्गन, 0४ जुलाई (हि.स.)। लोअर जङ्गुको फिदाङ नजिक रहेको फी खोलामाथि निर्माण गरिएको बेली पुलको आज वन तथा वातावरण विभागका मन्त्री तथा जङ्गुका विधायक पिन्त्सो नामग्याल लेप्चाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मङ्गनका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक एलबी छेत्री, प्रोजेक्ट स्वास्तिकका प्रमुख अभियन्ता ब्रिगेडियर अमित शाक्रे, १०७ आरसीसीका कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्नेल रविश अत्री, सहायक अभियन्ता (सिभिल) राजु के. प्रसाद, पञ्चायत प्रतिनिधिहरू आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले पुल निर्माण सफलतापूर्वक सम्पन्न गर्न समर्पित रूपमा काम गरेको बीआरओ/ग्रेफ टाेलीप्रति आभार व्यक्त गरे। साथै, यस क्षेत्रको सडक सञ्जाल सुदृढ बनाउन उनीहरूले निरन्तर पुर्याउँदै आएको योगदानको पनि प्रशंसा गरे। उनले याे पुल सञ्चालनमा आएपछि स्थानीयवासीको आवतजावत अझ सहज, सुरक्षित र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले परियोजना सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने स्थानीय समुदाय तथा सम्बन्धित सबै विभागप्रति पनि कृतज्ञता व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल