आदि पत्रकार गङ्गाप्रसाद प्रधानकाे 175औं जयन्ती पालन
पुरण तामाङ सम्मानित


- आगामी वर्षदेखि राज्यस्तरीय रूपमा पाद्री गङ्गाप्रसाद प्रधान जयन्ती पालन गरिने

गान्तोक, 04 जुलाई (हि.स.)। आदि पत्रकार गङ्गाप्रसाद प्रधानकाे 175औं जयन्ती आज राजधानीकाे तादाेङस्थित एनबी भण्डारी डिग्री कलेजकाे अडिटाेरियममा सम्पन्न गरियाे। कार्यक्रममा सिक्किम सरकारकाे स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथि तथा विधायक एलएन शर्मा र मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

यस अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याउने चार जना व्यक्तिलाई सम्मानित गरियाे। यस क्रममा वरिष्ठ पत्रकार पुरण तामाङलाई पत्रकारिता, गाेपाल ढकाललाई साहित्य, पिटर समशेरलाई सङ्गीत र एडवर्ड बरेट्टाेलाई आध्यात्मकाे क्षेत्रमा याेगदानका लागि सम्मानित गरियाे। एडवर्ड बरेट्टाे अस्वस्थताका कारण उपस्थित हुन सकेनन्। यसैगरी, एनबी भण्डारी डिग्री कलेजलाई शिक्षाकाे क्षेत्रमा उल्लेखनीय याेगदानकाे लागि सम्मानित गरियाे।

मुख्य अतिथि मन्त्री ढुङ्गेलले कार्यक्रमलाई सम्बाेधन गर्दै पाद्री गङ्गाप्रसाद प्रधानकाे पत्रकारिता र नेपाली भाषाप्रति याेगदानकाे उल्लेख गर्दै उनले नेपाली पत्रकारिताकाे आधार स्थापना गरेकाे र विद्यालयहरूमा नेपाली भाषा पठन पाठनलाई प्राेत्साहित गरेकाे बताए। उनी आदि पत्रकार हुनुका साथै बाइबललाई नेपाली भाषामा अनुवाद गर्ने र नेपाली भाषामा शब्दकाेष तयार गर्ने पहिलाे व्यक्ति रहेकाे बताए। उनले पाद्री गङ्गाप्रसाद प्रधान नेपालीकै गर्व रहेकाे बताए। सम्बाेधनकाे क्रममा उनले आगामी वर्ष पाद्री गङ्गाप्रसाद प्रधानकाे जयन्ती राज्य स्तरीय रूपमा पालन गरिने घाेषणा गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङकाे मार्गनिर्देशनमा जयन्ती पालन गरिने जानकारी गराए।

यसैगरी, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले ओझेलमा परिसकेका पाद्री गङ्गाप्रसाद प्रधानलाई प्रकाशमा ल्याउने धेरै काम गरेकाे बताए। उनले जुनै धर्म वा जातिका भए पनि समाजकाे निम्ति याेगदान दिने व्यक्ति समाजका स्रष्टा हुन् भनी बताए। स्रष्टाहरूका कार्यले समाजका सबै वर्ग लाभान्वित बन्ने उनकाे भनाई थियाे। उनले आगामी दिनहरूमा पाद्री गङ्गाप्रसाद प्रधानकाे जयन्ती राम्ररी मनाउन सुझाउ पनि राखे।

कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित सिक्किम अकादमीका अध्यक्ष प्रवीण राई जुमेलीले पाद्री गङ्गा प्रसाद प्रधानबारे आफ्ना विचारहरू राखेका थिए। कार्यक्रमलाई सम्मानित व्यक्तिहरूले पनि सम्बाेधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande