
सोरेङ, 04 जुलाई (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष राज कुमारी थापा आज सोरेङस्थित अभियान्त्रिकी परिसर (डाक बङ्गला) मा आयोजित २१२औँ राष्ट्रस्तरीय भानु जयन्ती समारोह २०२६ को चौथो दिन मुख्य अतिथिका रूपमा सहभागी भइन्। भाषा, साहित्य विकास एवम् जातीय सद्भावना विषयमा आयाेजित कार्यक्रम विधायक कला राई र विधायक पामिन लेप्चा पनि उपस्थित थिइन्।
आफ्नो सम्बोधनमा सिक्किम विधानसभाकी उपाध्यक्ष थापाले २१२औँ राष्ट्रस्तरीय भानु जयन्ती समारोह सफलतापूर्वक आयोजना भइरहेकाेमा आयोजक समितिलाई हार्दिक बधाई दिइन्। उनले यस समारोहलाई राज्यस्तरबाट राष्ट्रस्तरीय कार्यक्रमको रूपमा उचाइमा पुर्याउने मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदृष्टि र प्रतिबद्धताको प्रशंसा गरिन्।
उनले तर्क वितर्क प्रतियोगिताको महत्त्वबारे चर्चा गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने, समय व्यवस्थापनको क्षमता विकास गर्ने तथा आफ्ना विचार प्रभावकारी रूपमा अभिव्यक्त गर्न सिकाउने बताइन्। उनले विद्यार्थीहरूलाई सफल व्यक्तित्व बन्नुका साथै जिम्मेवार र सभ्य नागरिकका रूपमा अघि बढ्न प्रेरित गरिन्। भारतको संविधानद्वारा नेपाली भाषाले प्राप्त गरेको मान्यतालाई स्मरण गराउँदै उनले आफ्नै भाषा, साहित्य र सांस्कृतिक सम्पदाप्रति गर्व गर्न सबैलाई आग्रह गरिन्।
कार्यक्रम प्रारम्भमा मुख्य अतिथि र विशिष्ट अतिथिहरूले वन विभागको प्रमुख अभियान मेरो रुख, मेरो सन्तति अन्तर्गत लालीगुराँसका बिरुवाहरू लगाएका थिए।
अन्तर विश्वविद्यालय तर्क वितर्क प्रतियोगिताअन्तर्गत आज सेमिफाइनल चरणका दुई प्रतिस्पर्धा सम्पन्न भए। पहिलो प्रतिस्पर्धामा खरसाङ महाविद्यालय र कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किम तथा दोस्रो प्रतिस्पर्धामा सिक्किम विश्वविद्यालय र उत्तर बङ्गल विश्वविद्यालय माझ प्रतिस्पर्धा भयो। पहिले प्रतिस्पर्धामा कञ्चनजङ्घा राज्य विश्वविद्यालय, सिक्किमले खरसाङ महाविद्यालयलाई पराजित गर्यो। विजयी विश्वविद्यालयका विद्यार्थी भूपेन तिम्सिनालाई उत्कृष्ट वक्ता चयन गरियाे।
यसरी नै दाेस्राे प्रतिस्पर्धामा सिक्किम विश्वविद्यालयले उत्तर मङ्गल विश्वविद्यालयलाई पराजित गर्यो। यसमा विजयी विश्वविद्यालयकी विद्यार्थी मन्दिरा रावतलाई उत्कृष्ट वक्ता चयन गरियाे। दुवै विजेता टोली आगामी १३ जुलाई, २०२६ मा हुने फाइनल प्रतियोगिताका लागि छनोट भएका छन्। प्रतियोगिताको निर्णायक मण्डलमा डा. खगेन शर्मा, डा. गोपाल दाहाल तथा डा. दीपक तिवारी थिए।
हिन्दुस्थान समाचार / बिशाल