पार्टीभन्दा जाति ठूलो भन्ने नाराको साथमा गोर्खाहरु एकबद्ध हुनुपर्छ: अनित थापा
Anit thapa


खरसाङ, 05 जुलाई (हि.स.)। 'सुवास घिसिङको नारा ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो’ लाई लिएर अघि बढ्नुपर्छ। यस नारालाई लिएर गोर्खाहरु एकबद्ध हुनुपर्छ। यही सठीक समय हो।' उक्त कुरा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले भनेका हुन्।

खरसाङमा आयोजित भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिको आयोजनामा सम्पन्न युवा जनभेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले स्वर्गीय सुवास घिसिङले दिएको नारा ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटो ठूलो’ लाई उद्धृत गर्दै भने, यो नारा पहाडमा पुनः गुञ्जिनु आवश्यक छ। अनित थापाले अघि भने, 'यो समय गोर्खा जातिको लागि अनुकूल छ। अहिले पनि भएन भने कहिले पनि हुँदैन। त्यसर्थ पार्टीभन्दा जाति ठूलो भन्ने कुरालाई ध्यानमा राखेर गोर्खाहरु एकबद्ध भएर अघि बढ्नुपर्छ।'

उनले आफ्नो कुर्सी त्याग्ने निर्णयलाई वर्तमान समयको माग भएको उल्लेख गर्दै, “कुर्सी त आउँछ जान्छ, मैले त्याग गरेको होइन, यो समयको माग हो भनी बताए। थापाले आफ्नो सम्बोधनमा भने, 'अहिले गोर्खाको स्थायी राजनीतिक समाधान सम्भव छ, तर त्यसका लागि आन्तरिक एकतामा कमी भएको छ। यो समय शक्ति प्रदर्शनको होइन, एक सूत्रमा बाँधिने समय हो।' उनले युवाहरुलाई स्थानीय तहमा गएर जातीय एकीकरणका लागि जनतालाई बुझाउन सक्रिय हुन आग्रह गरे।

अनितले हिंसात्मक आन्दोलनलाई पूर्ण रूपमा अस्वीकार गर्दै भने, “हामी हिंसात्मक आन्दोलन अब मनमा पनि नराख्ने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको राजनीति जहिले पनि रचनात्मक हुनेछ। विध्वंसको राजनीति कहिले गर्ने छैनौँ।” उक्त जनसभामा गोर्खा समुदायको लामो यात्रा र संघर्षलाई स्मरण गर्दै नयाँ रणनीति र सोच आवश्यक रहेकोमा जोड दिइयो। अनित थापाले अझ भने, 'अबको यात्रा पहाडले, जातिले न्याय तथा उन्मुक्ति पाउने दिशातर्फ केन्द्रित हुनेछ र यसका लागि जोशभन्दा होशपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande