
गान्तोक, 05 जुलाई (हि.स.)। आदिकवि भानुभक्त आचार्यको २१२औँ जयन्तीको राष्ट्रियस्तरको भव्य समारोह अन्तर्गत आज राजधानीको ठाकुरबाडी मन्दिरमा गान्तोक जिल्ला अन्तर्गत अन्तर निर्वाचन क्षेत्रस्तरीय रामायण वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। कार्यक्रमका मार्ताम रुम्तेक निर्वाचन क्षेत्रका विधायक सोनाम भेन्चुङपा मुख्य अतिथि तथा गान्तोक नगरपालिकाकी मेयर छिरिङ पाल्देन भोटिया विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
रामायण वाचन प्रतियोगितामा तुमिन लिङ्गी, बुर्तुक, गान्तोक, स्यारी, तादोङ, आरिथाङ, मार्ताम रुम्तेक तथा खाम्दोङ सिङ्ताम गरी ८ वटा निर्वाचन क्षेत्रका प्रतियोगीहरूले सहभागिता जनाएका थिए। आजको प्रतियोगिताका निर्णायकहरूमा नरबहादुर भण्डारी डिग्री कलेजका सहायक प्राध्यापक डा. टेक बहादुर छेत्री, ओएसडी भवानी घिमिरे र साम्दोङ संस्कृत विश्वविद्यालयकी सहायक प्राध्यापक नरवदा मङ्गर थिए।
कार्यक्रममा मुख्य अतिथि विधायक भेन्चुङपाले आफूलाई रामायणको बारेमा धेरै ज्ञान नभए पनि सहभागीहरूले अत्यन्तै उत्कृष्ट रूपमा वाचन प्रस्तुत गरेकोमा प्रशंसा व्यक्त गरे। उनले रामायण केवल एक महाकाव्य मात्र नभई जीवन जिउने मार्गदर्शक ग्रन्थ रहेको बताए। उनले रामायण विश्वभर प्रसिद्ध रहेको उल्लेख गर्दै यो अत्यन्त प्रेरणादायी रहेको धारणा व्यक्त गरे।
उनले आदिकवि भानुभक्त आचार्यप्रति कृतज्ञता व्यक्त गर्दै संस्कृत भाषामा मात्र सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरिदिएकै कारण सम्पूर्ण नेपालीहरूले यसलाई बुझ्न सकेको बताए। यदि नेपालीमा अनुवाद नभएको भए हामीले यसको गहिरो अर्थ बुझ्न नसक्ने उनको भनाइ थियो। साथै, आदिकविलाई हामी सबैले उच्च सम्मान दिनुपर्ने कुरामा पनि उनले जोड दिए।
प्रतियोगिताको नतिजाअनुसार, तुमिन लिङ्गी निर्वाचन क्षेत्रले तेस्रो, तादोङ निर्वाचन क्षेत्रले दोस्रो र स्यारी निर्वाचन क्षेत्रले प्रथम स्थान हासिल गरेका छन्। विजेता टोली स्यारीले आगामी ९ जुलाईका दिन पुनःआफ्नो प्रस्तुति दिने अवसर प्राप्त गर्नेछ। उक्त दिन छनोटमा परेमा १३ जुलाईमा आयोजना हुने भानु जयन्तीको मुख्य कार्यक्रममा आफ्नो प्रस्तुति दिने अवसर प्राप्त गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल