
गान्तोक, 16 अगस्त (हि.स.)। भारत देशको 80औं स्वतन्त्रता दिवसको अवसरमा सिक्किममा पहिलो अङ्ग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको उद्घाटन गरिएको छ। राजधानीको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा स्थापित यस सेवाको शनिबार राज्यपाल ओमप्रकाश माथुरले मुख्यमन्त्री प्रेमसिंह तामाङ र स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलको उपस्थितिमा गरे।
यस ऐतिहासिक उपलब्धिको सम्मानस्वरूप मुख्यमन्त्री तामाङले शनिबार गान्तोकस्थित स्थानीय एक होटलमा आयोजित समारोहमा मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीलाई सम्मान गरेका छन्।
मुख्यमन्त्री तामाङले राज्यको स्वास्थ्य क्षेत्रमा पहिलो मिर्गौला प्रत्यारोपण ऐतिहासिक उपलब्धि रहेको बताउँदै यसले स्वास्थ्य विभाग तथा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरूको एकता, समर्पण र अथक मेहनतलाई प्रतिबिम्बित गरेको बताए। उनले कोलकाताको आरएन टागोर अस्पतालका डा. टीए जहाँगीरको नेतृत्वमा आएको विशेषज्ञ चिकित्सकीय टोलीप्रति आभार व्यक्त गर्दै प्रत्यारोपण सफल बनाउन योगदान दिने चिकित्सक, नर्स, प्राविधिक तथा अन्य स्वास्थ्यकर्मीहरूको प्रशंसा गरे।
मुख्यमन्त्रीले अब सिक्किममै अत्याधुनिक मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध हुने भएकाले बिरामी तथा परिवारले उपचारका लागि अन्य शहरमा जानुपर्ने कठिनाई कम हुने बताए। उनले स्वास्थ्य सेवा सुदृढीकरण सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै एसटीएनएम अस्पतालमा डायलाइसिस सेवाको विस्तारसँगै केमोथेरापी तथा रेडिएसन थेरापी सेवा शुरु गरिएको जानकारी दिए।
बढ्दो मधुमेह तथा क्यान्सरका घटनालाई ध्यानमा राख्दै खानपान, जीवनशैली र रोगको रोकथाममा समेत विशेष ध्यान दिनुपर्ने उनले बताए। साथै, योग्य परिवारका बिरामीको उपचार खर्चको आर्थिक भार कम गर्न मुख्यमन्त्री चिकित्सा सहायता योजनालगायत विभिन्न पहल गरिएको जानकारी दिए।
स्वास्थ्य तथा परिवार कल्याण विभागका मन्त्री ढुङ्गेलले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्व, प्रतिबद्धता र समर्पणको प्रशंसा गर्दै अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयू जनतालाई समर्पित गरिएको बताए। उनले डा. जहाँगीरको नेतृत्वमा आरएन टागोर अस्पताल, कोलकाताबाट आएको विशेषज्ञ टोलीप्रति आभार व्यक्त गर्दै प्रत्यारोपणपछिको उचित हेरचाह र नियमित फलोअपमा विशेष ध्यान दिन चिकित्सकीय टोलीलाई आग्रह गरे। उनले अंग प्रत्यारोपण क्षेत्रमा नयाँ प्रविधि, अनुसन्धान तथा उत्कृष्ट अभ्याससँगै अघि बढ्नुपर्नेमा जोड दिए।
उनले अंगदान गर्ने दाताको साहस र उदारताको पनि प्रशंसा गर्दै अंगदानका लागि साहस र मानवीय संवेदनशीलता आवश्यक हुने बताए।
यसअघि स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछोले अंग प्रत्यारोपण केन्द्र तथा पोस्ट-ट्रान्सप्लान्ट आईसीयूको स्थापना राज्यको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको बताए। उनले मुख्यमन्त्रीको दूरदृष्टि र स्वास्थ्य सेवा सुदृढीकरणप्रतिको प्रयासका लागि आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल