
खरसाङ, 16 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) का केन्द्रिय संस्थापक अध्यक्ष एवं पूर्व जीटीए प्रमुख अनित थापाले वर्तमान पहाडको राजनीतिमा जनताको आवाज कमजोर बनेको दाबी गर्दै भागोप्रमो जनताको आवाज बन्नुपर्ने बताएका छन्।
तीनधारे-महानदी समष्टि भागोप्रमोको आयोजनामा घैयाबारीमा सम्पन्न सांगठनिक सभालाई सम्बोधन गर्दै थापाले भागोप्रमो नयाँ सोच र विचार लिएर जन्मिएको पार्टी भएकाले यसको विचारधारालाई पहाडमा जीवित राख्नुपर्ने बताए।
थापाले भने, “अहिले पहाडमा जनताको आवाज खोसिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जनताको आवाज बनिनुपर्छ।” उनले पार्टीले रचनात्मक र व्यवहारिक राजनीतिलाई प्राथमिकता दिँदै आफ्नो विचारधारालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिए।
उनले आफूले जीटीएको कुर्सी त्यागेपछि पहिलोपटक तीनधारे-महानदी समष्टिका पार्टी कार्यकर्तासँग सांगठनिक सभा गरेको उल्लेख गर्दै विगतमा पार्टीले विभिन्न व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी र पद दिएको बताए। पार्टी छोडेर गएका नेताहरूप्रति व्यक्तिगत रूपमा नकारात्मक टिप्पणी गर्न नहुने बताउँदै उनीहरू पनि गोर्खा समाजकै सदस्य भएको थापाको भनाइ थियो।
थापाले गोर्खाको जातीय मुद्दा भागोप्रमोको प्राथमिकतामा रहेको स्पष्ट पारे। आगामी दिनमा भाजपाका सांसद तथा विधायकहरूलाई भेटेर गोर्खाको जातीय मुद्दालाई अघि बढाउन ज्ञापनपत्र बुझाउनेलगायतका नयाँ पहल शुरु गरिने उनले बताए।
उनले भने, “बीजेपीसँग हाम्रो विचारधारा मिल्दैन। तर पहाडबाट केन्द्रमा गोर्खाल्यान्डको आवाज लैजाने सांसद हुन् भने राज्यमा त्यो आवाज पुर्याउने विधायक हुन्। यी दुवै बीजेपीका छन्। त्यसैले जातीय मुद्दाको कुरा उठ्दा हामी उनीहरूसँग मुद्दालाई अघि बढाउन एउटै मञ्चमा पनि उभिन सक्छौँ।”
विगतको चुनाउमा भागोप्रमोले क्षेत्रीयताको मुद्दा लिएर चुनाउ लडे पनि जनताले क्षेत्रीयताभन्दा ठूलो मुद्दा गोर्खाल्यान्ड भएको जनमत दिएको थापाले बताए। जनताको उक्त जनमतलाई स्वीकार र सम्मान गर्दै आफूले जीटीएको पद त्यागेको उनको भनाइ थियो।
थापाले पहाडको वर्तमान राजनीतिमा एकअर्कालाई होच्याउने, दोष लगाउने र तिरस्कार गर्ने प्रवृत्ति हाबी रहेको भन्दै यस्तो राजनीतिले गोर्खा समाजलाई फेरि भ्रमित पार्न सक्ने चेताउनी दिए।
उनले भने, “आजको समय सबै गोर्खाहरू एकताबद्ध हुने समय हो। भागोप्रमो समस्याको समाधान खोज्न जन्मिएको पार्टी भएको उल्लेख गर्दै थापाले राजनीतिको सञ्चालन आक्रोशबाट नभई संयम र विवेकबाट हुनुपर्ने बताए। “आक्रोशले कहिले राजनीति गर्नु हुँदैन। आक्रोशले कहिले सफलता ल्याउँदैन। समाधान जोशले होइन, होशले हुन्छ,” उनले भने।
थापाले भागोप्रमो विचारधारामा आधारित पार्टी भएको र पार्टीले स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको बताए। पार्टीभित्र संघर्ष गर्ने र सुविधावादी दुवै प्रवृत्तिका मानिसहरू रहेको उल्लेख गर्दै उनले आफू सधैँ संघर्षको पक्षमा रहेको बताए।
उनले समयअनुसार नेतृत्वले आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्ने बताए। पहाडलाई विकासको आवश्यकता रहेको समयमा आफूहरूले विकासका कार्यलाई प्राथमिकता दिएको र अहिले गोर्खाको जातीय मुद्दा उठाउने अनुकूल समय आएको उनको भनाइ थियो।
थापाले पार्टीका निर्वाचित सभासद् तथा पञ्चायत सदस्यहरूमध्ये केही अहिले भागोप्रमोमा नरहे पनि उनीहरूकै नेतृत्व विकासका लागि पार्टीले अवसर दिएको दाबी गरे। उनीहरूको विरोधमा लागेर मूल मुद्दा बिर्सन नहुने भन्दै उनले कार्यकर्ताहरूलाई संगठन सुदृढीकरणमा केन्द्रित हुन आह्वान गरे।
अन्त्यमा थापाले भागोप्रमोले आगामी दिनमा गोर्खाको जातीय मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने दोहोर्याउँदै पार्टीका कार्यकर्ताहरूलाई एकजुट भएर संगठनलाई थप सशक्त बनाउन आग्रह गरे।
हिन्दुस्थान समाचार / हनोक