
गेजिङ, 16 अगस्त (हि.स.)। गेजिङ जिल्ला प्रशासनले रिम्बी-सिङ्लिताम पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा विस्तृत मूल्याङ्कन गरेको छ। गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाको नेतृत्व एवं पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी. भोटियाको समन्वयमा संयुक्त टोलीले आज प्रभावित क्षेत्रको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा पैह्रोका कारण जमिन, घर तथा अन्य सम्पत्तिमा पुगेको क्षति र आसपासका बस्तीमा उत्पन्न जोखिमको विस्तृत मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कनका आधारमा जिल्ला प्रशासनले थप राहत, पुनर्वास तथा जोखिम न्यूनीकरणका उपाय अघि बढाउने जनाएको छ।
पैह्रोका कारण सिङ्लिताम गाउँको तल र रिम्बी क्षेत्रको माथिल्लो भागमा ठूलो भूभाग गम्भीर रूपमा क्षतिग्रस्त भई बगाएको छ। सिङ्लितामका आठ तथा रिम्बीका चार घर उच्च जोखिममा रहेको पहिचान गरिएको छ। पैह्रोका कारण रिम्बी बस्तीसमेत जोखिममा रहेको प्रशासनले जनाएको छ। हालसम्म मानवीय क्षति वा पशुधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका 11 परिवारलाई सुरक्षाका दृष्टिले सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रभावित परिवारका लागि सिङ्लिताम र रिम्बीमा दुईवटा अस्थायी राहत शिविर स्थापना गरिएको छ।
सिङ्लितामका आठ गम्भीर रूपमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा रहेको अस्थायी राहत शिविरमा सारिएको छ भने रिम्बीका चार परिवारलाई रिम्बीस्थित राहत शिविरमा स्थानान्तरण गरिएको छ। अन्य जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई आफन्तका घरमा स्थानान्तरण गरिएको छ। यसैगरी रिम्बीस्थित एक आईसीडीएस केन्द्रलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
युक्सम प्राथमिक स्वास्थ्य केन्द्रबाट गएको स्वास्थ्य टोलीले राहत शिविरमा रहेका प्रभावित परिवारको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो। प्रभावित परिवारलाई आवश्यक औषधिसमेत वितरण गरिएको छ।
निरीक्षणका क्रममा जिल्लापाल डेन्जोङ्पाले खाद्य तथा नागरिक आपूर्ति विभागलाई राहत शिविरमा पर्याप्त खाद्यान्न तथा राशनको व्यवस्था गर्न निर्देशन दिएका छन्। विद्युत् विभागलाई आवश्यक विद्युत् जडान तथा सम्बन्धित सहयोग उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।
पछि रिम्बीमा प्रभावित गाउँलेहरूसँग संक्षिप्त बैठक आयोजना गरिएको थियो। बैठकमा जिल्ला प्रशासनले स्थानीयवासीका समस्या, तत्कालीन आवश्यकता तथा राहतसम्बन्धी मागबारे जानकारी लिएको थियो।
जिल्ला अधिकारीले सबै सम्बन्धित विभागबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आग्रह गर्दै मनसुनको अवधिमा स्थानीयवासीलाई सतर्क रहन अपिल गरेका छन्। राहत तथा पुनर्वास कार्यमा जिल्ला प्रशासनले कुनै कसर बाँकी नराख्ने बताउँदै सम्बन्धित सबै विभागलाई परिचालन गरी जोखिम न्यूनीकरण तथा आवश्यक सहयोगका कार्य अघि बढाइएको जानकारी दिए।
प्रभावित परिवारलाई सरकारको पूर्ण सहयोगको आश्वासन
प्रभावित परिवारसँगको भेटमा मन्त्री भोटियाले उनीहरूप्रति ऐक्यबद्धता जनाउँदै पुनर्वासका लागि सम्भव सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए। उनले जिल्ला प्रशासन तथा राज्य सरकारले बस्ती र स्थानीयवासीको सुरक्षाका लागि निरन्तर प्रयास गरिरहेको बताए। आवश्यकताअनुसार सम्बन्धित प्रावधानबमोजिम पुनर्वास, राहत तथा संरक्षणका उपाय अघि बढाइने र आवश्यक स्थानमा सुरक्षात्मक पर्खाल निर्माणसमेत गरिने उनले बताए। मन्त्री भोटियाले मनसुनका समयमा प्राकृतिक आपदा जुनसुकै बेला आउन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन तथा पुनर्वास प्रक्रियामा प्रशासनलाई आवश्यक सहयोग गर्न अपील गरे। उनले प्रभावित परिवारलाई राहत शिविरमा आवश्यक सबै सहयोग उपलब्ध गराउन तथा उनीहरूसँग निरन्तर सम्पर्कमा रही शिविरको अवस्थाको निगरानी गर्न जिल्ला प्रशासनलाई निर्देशन दिए।
मन्त्री तथा क्षेत्र विधायकले आपदाको अवस्थामा शीघ्र र सक्रिय रूपमा परिचालन भएको जिल्ला प्रशासन तथा सम्बन्धित सबै विभागको प्रयासको प्रशंसा गरे।
यसअघि सम्बन्धित जीपीयूका पञ्चायत अध्यक्ष मंगल राईले भ्रमण टोलीलाई पैह्रोको वर्तमान अवस्था, प्रभावित गाउँलेका समस्या तथा तत्काल आवश्यक सहयोगबारे जानकारी गराएका थिए।
हिन्दुस्थान समाचार / बिशाल