
गान्तोक, 16 अगस्त (हि.स.)। नेपाली चलचित्र क्षेत्रमा आफ्नो पहिलो पाइला ‘माइतीघर’ बाटै सफल बनाउँदै सिक्किम निवासी अभिनेत्री श्यामाश्री शेर्पाले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितेकी छन्।
काठमाडौंमा सम्पन्न तेस्रो अन्तरराष्ट्रिय नेपाली चलचित्र अवार्ड (आईएनएफए) समारोहमा श्यामाश्री शेर्पालाई ‘माइतीघर’ चलचित्रमा गरेको अभिनयका लागि उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड प्रदान गरिएको हो।
उक्त विधामा पाँच जना नव-नायिका मनोनयनमा परेका थिए। प्रतिस्पर्धामा उत्कृष्ट ठहरिँदै श्यामाश्री शेर्पाले अवार्ड हात पारेकी हुन्।
सिक्किमको सिङताम निवासी श्यामाश्री शेर्पाले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आफ्नो पहिलो चलचित्रबाटै प्राप्त यो सम्मान विशेष उपलब्धिका रूपमा रहेको छ। अवार्डले नेपाली चलचित्र क्षेत्रमा उनको अभिनय यात्रालाई थप उत्साह र हौसला प्रदान गरेको छ।
सम्मानपछि अभिनेत्री शेर्पाले यस अवार्डले आफूलाई आगामी दिनमा अझ उत्कृष्ट काम गर्न प्रेरणा मिलेको बताउँदै नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘माइतीघर’ बाटै पहिलो अवार्ड जित्न सफल श्यामाश्री शेर्पाको यो उपलब्धिले सिक्किमबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने नयाँ प्रतिभाका लागि समेत प्रेरणाको आधार बनेको छ। उनले अवार्ड जितेपछि सिक्किम दार्जिलिङका आफुभन्दा अग्रज कलाकारहरूको सम्झना गर्दै उनीहरूले आफूलाई यो क्षेत्रमा आउन अभिप्रेरित गरेको बताइन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल