बिजनबारीमा गोर्खाल्याण्ड संकल्प जनभेला: एकजुट भएर अघि बढ्न जोड
Bijanbari


बिजनबारी, 16 अगस्त (हि.स.)। गोर्खा जातिको पहिचान र राजनीतिक आकांक्षा छुट्टै राज्य गोर्खाल्याण्डबाहेक अन्य कुनै पनि व्यवस्थाबाट पूर्ण हुन नसक्ने सन्देशसहित आइतबार बिजनबारी सार्वजनिक खेल मैदानमा गोर्खाल्याण्ड संकल्प जनभेला आयोजना गरिएको छ। बिजनबारी क्षेत्रका युवाहरूको विशेष आयोजनामा सम्पन्न कार्यक्रममा नयाँ पार्टी निर्माण समितिका तर्फबाट संयोजक सञ्जय थुलुङ, लीलाकुमार गुरुङ, बिक्की सुब्बा मादेन, प्रियवर्ध्दन राई, तिलक छेत्री, सिद्धान्त गोर्खा राई, किरण प्रधान, सचिन गुरुङ तथा शेरप शेर्पा लगायत अन्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा इण्डियन गोर्खा जनशक्ति फ्रन्टका युवा नेताहरू राब्गे राई र नोरा सुब्बासहित रिम्बिक लोधोमा, रेलिङ कैजले, पुलबजार, बिजनबारी, गोक, चुङथुङ मेरीबोङ तामसाङ लगायतका समष्टिका विभिन्न ग्रामबाट आएका युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले गोर्खा जाति विभाजित भएर नभई एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए। पहाडमा सक्रिय विभिन्न राजनीतिक दलहरूले आफ्ना राजनीतिक स्वार्थलाई प्राथमिकता दिइरहेको आरोप लगाउँदै गोर्खा हितका लागि काम गर्ने राजनीतिक शक्तिको आवश्यकता पहाडले महसुस गरिरहेको उनीहरूको भनाइ थियो।

वक्ताहरूले गोर्खाल्याण्ड प्राप्तिको लक्ष्यका लागि कुनै पनि प्रकारको सम्झौता वा वैकल्पिक व्यवस्थामा अल्झिनुभन्दा लक्ष्य प्राप्तिका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे। हाल मैदानमा सक्रिय युवाहरू सुरुवाती ‘झिल्का’ मात्र भएको उल्लेख गर्दै आवश्यकता परेको अवस्थामा पहाडभरिका युवाहरू एकजुट भएर आन्दोलनको मैदानमा उत्रिने चेतावनीसमेत उनीहरूले दिए।

यसैबीच, भारतीय जनता पार्टीले पश्चिम बंगालमा सरकार गठन भएको छ महिनाभित्र गोर्खाहरूको स्थायी राजनीतिक समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको दाबी गर्दै वक्ताहरूले अहिले यहाँ भाजपा गठबन्धनसँग आबद्ध दलहरूले बंगालभित्रकै विभिन्न वैकल्पिक मुद्दाहरू उठाइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे। यही परिस्थितिलाई मध्यनजर गर्दै नयाँ पार्टी निर्माण समितिले ‘सही समयमा गलत निर्णय नहोस्’ भन्ने उद्देश्यसहित ‘जागौँ र जगाऔँ’ अभियानलाई थप तीव्रता दिएको जनाएको छ।

जनभेलामा सहभागी युवाहरूले गोर्खाल्याण्डको मागलाई दीर्घकालीन राजनीतिक लक्ष्यका रूपमा अघि बढाउन युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै पहाडका विभिन्न क्षेत्रका युवाहरूबीच एकता, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउने आवश्यकता औँल्याए।

कार्यक्रमले गोर्खाल्याण्डको मागलाई केन्द्रमा राख्दै युवाहरूलाई संगठित गर्ने तथा आगामी दिनमा अभियानलाई थप व्यापक बनाउने दिशामा जोड दिएको आयोजक पक्षले जनाएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande