
खरसाङ, 16 अगस्त (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) प्राथमिक शिक्षा सेलको सभा खरसाङस्थित पार्टी कार्यालयमा प्राथमिक शिक्षा सेलका केन्द्रिय संयोजक प्रकाश हाङखिमको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा भाजपा दार्जिलिङ जिल्ला प्राथमिक शिक्षा सेलका केन्द्रिय समिति, जिल्ला समिति, महकुमा तथा विभिन्न सर्कलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभामा भाजपा दार्जिलिङ जिल्ला सचिव निरज थापाको पनि विशेष उपस्थिति रहेको थियो। बैठकमा जीटीए क्षेत्रको प्राथमिक शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या तथा तिनको समाधानका उपायबारे विस्तृत छलफल गरिएको बताइएको छ।
सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्राथमिक शिक्षा सेलका केन्द्रिय संयोजक प्रकाश हाङखिमले अदालतको आदेशअनुसार विगत पाँच वर्षदेखि कार्यरत शिक्षकहरूले अनिवार्य रूपमा टीईटी परीक्षामा सहभागी हुनुपर्ने निर्णयलाई भाजपा प्राथमिक शिक्षा सेलले स्वागत गरेको बताए। उनले क्षेत्रीय स्तरमा टीईटी परीक्षा सञ्चालन गरी सबै सम्बन्धित शिक्षकलाई अवसर प्रदान गर्नुपर्ने माग राखे।
हाङखिमका अनुसार, सन् २००२ मा अन्तर्वार्ता दिएर सन् २०१३ मा शिक्षकका रूपमा नियुक्त भएका शिक्षकहरूले भोग्दै आएका विभिन्न समस्यालाई विगतका सरकारले सम्बोधन नगरेका कारण समस्या अझ जटिल बन्दै गएको छ। उनले उक्त समस्या यथाशीघ्र समाधान गर्नुपर्ने संगठनको माग रहेको बताए।
त्यसैगरी, सन् २०१३ को 4 मार्चपछि नियुक्त भएका शिक्षकहरूका पनि छुट्टै समस्या रहेको उल्लेख गर्दै उनले ती समस्याको समाधानका लागि संगठनले उच्च तहमा पहल गरिरहेको जानकारी दिए। उनले आगामी 5 सेप्टेम्बर अर्थात् शिक्षक दिवसका दिन भाजपा प्राथमिक शिक्षा सेलको आयोजनामा जीटीए क्षेत्रका १३ वटा तथा कालेबुङका तीनवटा सर्कलका प्राथमिक शिक्षकहरूको सहभागितामा जीटीएस्तरीय शिक्षक दिवस समारोह आयोजना गरिने बताए। सबैका लागि सहज हुने स्थानका रूपमा मङ्पुमा कार्यक्रम आयोजना गर्ने तयारी रहेको उनले जानकारी दिए।
उनले जीटीए क्षेत्रमा प्राथमिक शिक्षा क्षेत्रमा सञ्चालन हुँदै आएको ‘नोट क्याम्प’ को प्रचलनलाई निरन्तरता दिन भाजपा प्राथमिक शिक्षा सेलले विस्तृत छलफल गरेको र अब यसलाई सम्पूर्ण जीटीए क्षेत्रमा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरिएको पनि बताए।
हिन्दुस्थान समाचार / हनोक