पश्चिम बङ्गालमा मौसमको बदलिँदो स्वरूप, केही जिल्लाहरूमा पानी पर्ने सम्भावना
पश्चिम बङ्गालमा मौसमको बदलिँदो स्वरूप, केही जिल्लाहरूमा पानी पर्ने सम्भावना


कोलकाता, 21 अगस्त (हि.स.)। पश्चिम बङ्गालमा शुक्रवार मौसमको स्वरूप मिश्रित रहने सम्भावना छ। अलिपुर मौसम विभागानुसार राज्यका केही जिल्लाहरूमा बिजुली चम्किनको साथै हल्कादेखि मध्यम वर्षा हुनसक्छ। तथापि सबै क्षेत्रमा एक समान वर्षा हुने सम्भावना भने छैन। दक्षिण बङ्गालका केही भागहरूमा चर्को घाम र आद्रता कायम रहनसक्छ।

खड़गपुर र पश्चिम मेदिनीपुरमा पछिल्लो दुई दिनदेखिको लगभग पानी परेको छैन। शुक्रवार बिहान पनि यहाँका कतिपय क्षेत्रहरूमा चर्को घाम लाग्यो। त्यसैले मानिसहरूलाई आद्रतापूर्ण गर्मीको सामना गर्न परिरहेको छ। मौसम विभागले दिउँसो केही ठाउँमा बादल विकसित हुने अनि बिजुली चम्किनको साथै पानी पर्ने अनुमान व्यक्त गरेको छ।

पूर्व मेदिनीपुरमा पनि मौसम मिश्रित रहने अनुमान छ। यहाँका केही क्षेत्रहरूमा घाम लागे पनि बादल लाग्नसक्छ। स्थानीय स्तरमा वर्षा पनि हुनसक्छ। पूर्व अनि पश्चिम मेदिनीपुरमा वर्षाको वितण असमान रहने सम्भावना छ।

अलिपुर मौसम विभाग अनुसार कोलकाता, हावड़ा, हुगली, उत्तर औ दक्षिण 24 परगना, नदिया, पूर्व औ पश्चिम बर्दवान, बाँकुड़ा, पुरुलिया, झाड़ग्राम तथा बीरभूमका कतिपय ठाउँहरूमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। केही स्थानहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।

उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, कुचबिहार औ अलिपुरद्वारमा पनि हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। पहाड़ी अनि तराई क्षेत्रमा वर्षाको गतिविधि अपेक्षाकृत अधिक रहनसक्छ।

मौसम विभाग अनुसार दक्षिण बङ्गालमा आगामी दिनमा वर्षाको गतिविधि पुनः बढ़्नसक्छ। आगामी 23 र 24 अगस्तका दिन केही स्थानहरूमा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ भने 25 अगस्तमा पनि पानी पर्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande