
गान्तोक, 21 अगस्त (हि.स.)। आगामी शैक्षिक सत्र २०२६-२७ का लागि हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको तयारी तथा सञ्चालनसम्बन्धी व्यवस्थाको मूल्याङ्कन गर्न आज सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङको नेतृत्वमा कलेजको व्यापक निरीक्षण तथा समीक्षा बैठक सम्पन्न भयो। कलेजको पहिलो एमबीबीएस शैक्षिक सत्र आगामी ८ सेप्टेम्बर, २०२६ देखि औपचारिक रूपमा शुरु हुने तय भएको छ।
निरीक्षणको मुख्य उद्देश्य कलेजको समग्र तयारीको समीक्षा गर्नुका साथै राष्ट्रिय चिकित्सा आयोगद्वारा निर्धारित वैधानिक मापदण्डहरू पूर्ण रूपमा पालना सुनिश्चित गर्नु रहेको थियो। भ्रमण अवधि मुख्य सचिवसँग स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो लगायत विभिन्न विभागका प्रमुख तथा प्राध्यापकहरू सहभागी थिए।
निरीक्षणका क्रममा मुख्य सचिवले कलेजको शैक्षिक भवन, लेक्चर थिएटर, प्रयोगशाला तथा अध्यापनका लागि आवश्यक उपकरण र सामग्रीहरूको स्थलगत निरीक्षण गरे। त्यसपछि आयोजित समीक्षा बैठकमा डिनले प्राध्यापकहरूको नियुक्ति, शैक्षिक क्यालेन्डर, प्रयोगशाला, अध्यापन सामग्री तथा विद्यार्थीका लागि उपलब्ध गराइने सुविधालगायत विभिन्न महत्वपूर्ण पक्षमा एमबीबीएस सिट सञ्चालनका लागि गरिएको तयारीबारे जानकारी गराए।
स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछोले स्थलगत व्यवस्थापन तथा आवश्यक पूर्वाधारको समीक्षा गर्दै कलेजका प्राध्यापक तथा कर्मचारीहरूलाई समन्वयात्मक रूपमा काम गर्न आग्रह गरे। उनले छात्रावासको व्यवस्थापन तथा निगरानी, इन्जिनियरिङ शाखामार्फत मेस सुविधा समयमै पूरा गर्ने तथा विद्यार्थीका लागि समर्पित यातायात व्यवस्था सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिए।
निरीक्षणको अन्त्यमा मुख्य सचिव तेलाङले कलेजको प्रशासनिक नेतृत्व तथा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्दै बाँकी रहेका सबै कार्यहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गर्न विभिन्न विभागबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले सम्पूर्ण टोलीलाई शुभकामना दिँदै हेलेन लेप्चा सिक्किम सरकारी मेडिकल कलेजको सञ्चालन सिक्किममा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहको क्षेत्रमा ऐतिहासिक उपलब्धि रहेको उल्लेख गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल