
- विधायक कला राई अनि सुदेशकुमार सुब्बाको उपस्थितिमा जनाइयो स्वागत
गान्तोक, 21 अगस्त (हि.स.)। मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल परित्याग गर्दै केही नेता तथा सदस्यहरू सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) मा सामेल भएका छन्। मानेबुङ-देन्ताम निर्वाचन क्षेत्रमा आयोजित एसकेएम पार्टीको पञ्चायत परामर्श अभियानका क्रममा उनीहरू पार्टीमा प्रवेश गरेका हुन्।
कार्यक्रममा विधायक कला राई र क्षेत्र विधायक सुदेशकुमार सुब्बाको उपस्थितिमा नवप्रवेशी सदस्यहरूलाई एसकेएम पार्टीमा स्वागत गरिएको थियो। एसकेएममा सामेल हुनेहरूमा कुमुक सेपी निवासी सीएपीका जिल्ला महासचिव तथा नारी कार्यकारी सदस्य भगिमाया लिम्बू, सीएपी सदस्य तथा कुमुक सेपीकी पूर्व पञ्चायत मिना कुमारी राई, सोपाखाका पूर्व पञ्चायत तथा सीएपी सदस्य मणिकुमार सुब्बा रहेका छन्। यसैगरी, कुमुक सेपीका सीएपी सदस्यहरू दिलबहादुर राई, दिलीप राई र मनिष राईले पनि सीएपी परित्याग गरी एसकेएम पार्टीमा प्रवेश गरेका छन्।
श्रीनागी माङ्मूबाट एसडीएफका केन्द्रिय कार्यकारी सदस्य एलबी थापा तथा एसडीएफका पूर्व पञ्चायत उपाध्यक्ष भुपाल छेत्रीले पनि एसकेएममा प्रवेश गरेका छन्। पार्टीमा प्रवेश गर्ने नयाँ सदस्यहरूलाई विधायकद्वय कला राई र सुदेशकुमार सुब्बाले स्वागत गरे। पार्टी प्रवेश कार्यक्रममा स्थानीय पार्टी कार्यकर्ता तथा समर्थकहरूको पनि उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल