वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत
Dipendra sharma joined cap


गान्तोक, 21 अगस्त (हि.स.)। नाम्चेबुङ निर्वाचन क्षेत्रकाे आसाम लिङ्जे जीपीयूअन्तर्गत गैरीगाउँ वार्ड नम्बर 4 का वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष गणेश कुमार राईको नेतृत्वमा नाम्चेबुङ निर्वाचन क्षेत्रमा आयोजित ‘प्रवास’ कार्यक्रमका क्रममा शर्मा पार्टीमा प्रवेश गरेका हुन्।

उनलाई २० अगस्तमा सीएपी सिक्किमको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अवसरमा पार्टी अध्यक्ष राईले शर्मालाई खादा तथा पार्टी साहित्य प्रदान गर्दै संगठनमा स्वागत गरे।

पार्टी प्रवेशपछि दिपेन्द्र शर्माले सीएपी सिक्किमको सिद्धान्त र दृष्टिकोणप्रति आफू विश्वस्त रहेको बताए। जनकेन्द्रित राजनीति, जवाफदेही शासन, पारदर्शिता तथा सार्थक राजनीतिक सुधारप्रतिको विश्वासका कारण आफूले पार्टीमा प्रवेश गर्ने निर्णय गरेको उनले बताए। उनले पार्टी संगठनसँग सहकार्य गर्दै स्थानीय लोकतन्त्रलाई सुदृढ़ बनाउन तथा जनताका समस्यालाई सम्बोधन गर्न योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

शर्मालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष गणेश कुमार राईले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पार्टी प्रवेशले सीएपी सिक्किमको सुधारमुखी राजनीतिक दृष्टिकोणप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बताए। पञ्चायत प्रतिनिधिहरू जनताको सबैभन्दा नजिक रहने भएकाले स्थानीय तहका समस्या बुझ्न र समाधान गर्न उनीहरूको महत्वपूर्ण भूमिका रहने राईले उल्लेख गरे।

राईले सीएपी सिक्किमले स्थानीय तहदेखि नै संगठनलाई थप सुदृढ़ बनाउँदै स्वच्छ राजनीति, जिम्मेवार नेतृत्व र जनसेवाप्रति प्रतिबद्ध व्यक्तिहरूलाई मञ्च प्रदान गर्दै जाने बताए। उनले पञ्चायत प्रतिनिधिका रूपमा दिपेन्द्र शर्माको अनुभवले उक्त क्षेत्रमा पार्टीको स्थानीय तहको जनसम्पर्कलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

पार्टीले ‘प्रवास’ कार्यक्रम केवल संगठनात्मक गतिविधि मात्र नभई जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने, उनीहरूका समस्या बुझ्ने तथा सिक्किमभर पार्टी र समुदायबीचको सम्बन्धलाई सुदृढ़ बनाउने महत्वपूर्ण पहल भएको जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande