
कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। जलपाईगुड़ी जिल्लाको धुपगुड़ी ब्लक अन्तर्गत झाड़ अलता-2 ग्राम पञ्चायतको मध्य खट्टीमारी क्षेत्र निवासी 36 वर्षीय आदिवासी युवक नगन भगतको लामो प्रतीक्षा पश्चात आयुष्मान भारत योजना अन्तर्गत गल ब्लाडर स्टोन (भुँड़ीमा ढुङ्गा)-को नि:शुल्क अपरेशन गराइयो। वर्ष 2023-मा गल ब्लाडर स्टोन रहेको थाहा पाएपछि अपरेशनको लागि लगभग दुई-अढ़ाई लाख रुपियाँ आवश्यक रहेको बताइएको थियो। एकजना प्रवासी मजदुरको सामान्य आय श्रोतबाट यति धेरै धनराशि जुटाउनु सम्भव थिएन।
नगनले दाबी गरेका छन्, त्यसताक स्वास्थ्य साथी कार्डलाई लिएर धेरै वटा चिकित्सा केन्द्रहरूमा सम्पर्क गरियो, तर उनले उपचारको सुविधा पाउन सकेनन्। आर्थिक सङ्कटको कारणले अपरेशन नभएपछि पीड़ा सहँदै भए पनि तिनी पुनः मुम्बई कमाउन गए।
लगभग तीन वर्षपछि स्थानीय आशा कार्यकर्ताहरूको पहलमा नगनको लागि आयुष्मान भारत कार्डको व्यवस्था गरियो। त्यसपछि जलपाईगुड़ीको टच नर्सिङ्ग होममा आयुष्मान भारत योजना अन्तर्गत उनको गल ब्लाडर स्टोनको अपरेशन पूर्ण रूपले निःशुल्क भयो। जलपाईगुड़ी मेडिकल कलेजका जनरल सर्जन डा.
सप्तर्षि मण्डलको सम्पर्कमा आएपछि यो उपचार सम्भव भयो।
हाल नगनले घरमै स्वास्थ्य लाभ लिरहेका छन्। चिकित्सकहरूले उनलाई लगभग एक महिना विश्राम गर्ने सल्लाह दिएका छन्। तथापि अपरेशनपछि अब उनी समक्ष परिवार धान्ने चुनौती आइपरेको छ,किनभने उनी परिवारको एकमात्र कमाउने सदस्य हुन्।
नगनको भनाइ छ, अब पूर्ण रूपले स्वस्थ भएर फेरि काममा फर्किन्छु। उनले आशा व्यक्त गरे, हालैमा भएको आवास योजनाको सर्वेपछि उनले पक्का घर पनि पाउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा