
गान्तोक, १६ सेप्टेम्बर (हि.स.)। सिक्किम विधानसभाका अध्यक्ष मिङ्मा नर्बु शेर्पाले दक्षिण अफ्रिकाको केप टाउन इन्टरनेसनल कन्भेन्सन सेन्टरमा आयोजित ‘आपदा जोखिम वित्तीय प्रबन्धनमा संसदको भूमिका’ विषयमाथि आयोजित कार्यशालामा सहभागिता जनाएका छन्। अध्यक्ष शेर्पा राष्ट्रमण्डल संसदीय संघ (सीपीए) को साना शाखा सञ्जालमा भारत क्षेत्रबाट प्रतिनिधित्व गर्ने एकमात्र सदस्य पनि हुन्।
सिक्किम विधानसभाका अनुसार, कार्यशालामा राष्ट्रमण्डलका विभिन्न देशका सीपीए साना शाखाका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा आपदा जोखिमका लागि वित्तीय प्रबन्धन, पूर्वतयारी तथा प्राकृतिक एवं अन्य आपदाबाट उत्पन्न जोखिम सामना गर्न संसदको भूमिका र अनुकूलता निर्माणका विषयमा छलफल गरिएको थियो।
यसैगरी, सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले सीटीआईसीसीमा आयोजित राष्ट्रमण्डल महिला सांसद (सीडब्ल्यूपी) सम्मेलनअन्तर्गत ‘अन्तरपुस्ता समानता: संसदीय लोकतन्त्रको भविष्य’ विषयमाथि आधारित कार्यशालामा सहभागिता जनाइन्। कार्यशालामा अन्तरपुस्ता समानताको महत्व तथा भावी पुस्ताका लागि समावेशी र प्रतिनिधिमूलक संसदीय लोकतन्त्रलाई सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो।
सिक्किम शाखाका प्रतिनिधिहरूले ६९औँ राष्ट्रमण्डल संसदीय सम्मेलन (सीपीसी) अन्तर्गत आयोजित विभिन्न पूर्ण सत्रका कार्यशालामा समेत सहभागिता जनाए। तीमध्ये ‘समावेशी तथा निष्पक्ष व्यापारका लागि अन्तरसंसदीय संवाद प्रवर्द्धन’ र ‘विविध तथा पहुँचयोग्य संसद: दिव्याङ्ग व्यक्तिहरूको समावेशीकरण’ विषयक सत्र प्रमुख रहेका थिए।
यी सत्रहरूले संसदीय संवाद, समावेशिता तथा पहुँचयोग्यता सुदृढ गर्ने विषयमा सांसदहरूलाई आफ्ना विचार तथा अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विधानसभा सचिवालयले जनाएको छ। यसैबीच, राज्यसभाका उपसभापति हरिवंशले केप टाउनमा भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूसँग जानकारीमूलक बैठकको आयोजना गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल