
बाँकुड़ा, 16 सेप्टेम्बर (हि.स.)। अवैध मदिराको निर्माण अनि बिक्रीमाथि रोक लगाउनको लागि आबकारी विभागको सहयोगमा गए मङ्गलवार बिहानदेखि अबेर रातीसम्म विष्णुपुर महकुमाका विभिन्न थाना क्षेत्रहरूमा संयुक्त अभियान सञ्चालन गरियो। अभियान अन्तर्गत अवैध मदिरा जफत गर्नको साथै प्रचुर मात्रामा मदिरा बनाउने सामग्रीहरूलाई नष्ट गरियो। साथै तीन जना मानिसहरूलाई पक्राउ गरियो।
सूत्र अनुसार पात्रसायर थाना क्षेत्रको रुइदास पाड़ामा अभियान चलाएर लगभग 90 लीटर अवैध मदिरा जफत गरियो। यस मामिलामा तीन जना मानिसहरूलाई पक्राउ गरिएको छ। बङ्गाल आबकारी अधिनियमका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी तीनैलाई अदालतलमा पठाइएको छ।
यता सोनामुखी थाना क्षेत्रको पारजोर गाउँ र यस संलग्न जङ्गली क्षेत्रमा पुलिस, आबकारी विभाग अनि वन विभागले संयुक्त अभियान सञ्चालन गऱ्यो। अभियानको क्रममा लगभग 400 लीटर मदिरा बनाउने सामग्रीहरूलाई नष्ट गरियो भने 20 लीटर अवैध मदिरा जफत गरियो।
यसरी नै कोतुलपुर थाना क्षेत्रको पानुआ गाउँमा पनि पुलिस र आबकारी विभागको संयुक्त कारबाहीमा लगभग 60 लीटर मदिरा बनाउने सामग्रीलाई नष्ट पारियो।
विष्णुपुर महकुमाको पुलिसले भन्यो, जनसुरक्षालाई कायम राख्न तथा अवैध मदिराको निर्माण एवं बिक्रीमाथि रोक लगाउनको लागि अभियान जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा