
गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम सिक्किमको श्रीबादाम निवासी साङ्गे छोपेल भोटियाकी छोरी योडेनला भोटियासँग आज आफ्नो सरकारी निवासमा भेट गरेका छन्।
मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, योडेनला भोटियाले आगामी २३ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म फिलिपिन्सको सेबुमा आयोजना हुने मिस एसिया प्यासिफिक अन्तरराष्ट्रिय प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन्।
भेटका क्रममा मुख्यमन्त्री तामाङले योडेनलालाई प्रतियोगिताका लागि हार्दिक शुभकामना दिँदै उनको आगामी यात्राको सफलताको कामना गरे। उनले अन्तरराष्ट्रिय मञ्चमा योडेनलाले सिक्किमको गौरव, गरिमा र भावनालाई साथमा लिएर देश तथा राज्यको नाम उज्ज्वल बनाउने विश्वास व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल