मुख्यमन्त्रीले सरकारी विद्यालयका नीट उत्तीर्ण विद्यार्थीहरूसँग भेट गरे
नीट उत्तीर्ण विद्यार्थीहरूसँग मुख्यमन्त्री तामाङ


नीट उत्तीर्ण विद्यार्थीहरूसँग मुख्यमन्त्री


गान्तोक, 16 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी विद्यालयबाट अध्ययन गरी राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नीट) उत्तीर्ण गरेर चिकित्सा स्नातक (एमबीबीएस) अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूसँग आफ्नो सरकारी निवासमा भेट गरेका छन्।

मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमार्फत आज दिएको जानकारीअनुसार, ती विद्यार्थीहरूले आफ्नो मेहनत र समर्पणका बावजुद हेलेन लेप्चा सिक्किम मेडिकल कलेज तथा सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थानमा एमबीबीएसका लागि सिट प्राप्त गर्न सकेनन्। तर, आफ्नो लगन र दृढ प्रयासका कारण उनीहरूले पश्चिम बंगाललगायत अन्य राज्यका निजी चिकित्सा संस्थानमा एमबीबीएस अध्ययनका लागि भर्ना सुरक्षित गरेका छन्।

मुख्यमन्त्रीले दुर्गम क्षेत्र तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका यी प्रतिभाशाली विद्यार्थीहरूलाई आफ्ना सपना पूरा गर्न आवश्यक अवसर प्रदान गर्नुपर्ने बताए। उनीहरूको अध्ययनलाई निरन्तरता दिन राज्य सरकारले पश्चिम बंगाल तथा अन्य राज्यका संस्थानमा एमबीबीएस अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराउने उनले जानकारी दिएका छन्।

मुख्यमन्त्री तामाङले राज्य सरकार युवाहरूलाई सशक्त बनाउने तथा योग्य प्रत्येक विद्यार्थीले आफ्नो सपना र आकांक्षा पूरा गर्दै उज्ज्वल एवं सार्थक भविष्य निर्माण गर्ने अवसर सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande