
चण्डीगढ, १८ सेप्टेम्बर (हि.स.)। पञ्जाबको अमृतसरमा बिहीबार राति ड्युटीमा खटिएका एएसआई हरजीत सिंहको अज्ञात हतियारधारी युवाले गोली हानी हत्या गरेका छन्। घटना राति करिब २ः३० बजी भएको हो। घटनाप्रति पञ्जाबका पुलिस महानिर्देशकले दुःख व्यक्त गरेका छन्। घटनाको जिम्मेवारी ‘तहरीक-ए-तालिबान हिन्दुस्तान’ नामक आतङ्कवादी सङ्गठनले लिएको दाबी गरे पनि पुलिसले यसको पुष्टि गरेको छैन।
पञ्जाबको तरनतारन निवासी एएसआई हरजीत सिंह गेट हकीमा पुलिस चौकीमा कार्यरत थिए। बिहीबार राति करिब २ः३० देखि ३ बजीको बीचमा उनी दाना मण्डी क्षेत्रमा पुलिस गस्तीमा खटिएका थिए। सोही क्रममा मोटरसाइकलमा आएका दुई जना आक्रमणकारीले उनीमाथि गोली प्रहार गरी फरार भएका थिए।
गोली चलेको सूचना पाएलगत्तै पुलिस टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते हरजीत सिंहलाई तत्काल अमनदीप अस्पताल लगिएको थियो। चिकित्सकले उपचार शुरु गरे पनि उनको अवस्था सुधार हुन सकेन र उपचारका क्रममा उनको मृत्यु भयो। पुलिसले शव नियन्त्रणमा लिएर थप जॉंच तथा कानुनी प्रक्रिया अघि बढाएको छ।
घटनापछि ‘तहरीक-ए-तालिबान हिन्दुस्तान’ नामक सङ्गठनले आक्रमणको जिम्मेवारी लिएको दाबी सार्वजनिक भएको छ। यद्यपि, पुलिसले उक्त दाबीको आधिकारिक पुष्टि गरेको छैन।
घटनापछि पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले राज्य सरकार शहीद पुलिसकर्मीको परिवारको साथमा रहेको बताएका छन्। सम्मानस्वरूप सरकारले परिवारलाई १ करोड रुपियाँ अनुग्रह राशि तथा एचडीएफसी ब्यांकका तर्फबाट थप १ करोड रुपियाँको चेक प्रदान गर्ने उनले बताए।
पञ्जाब पुलिस महानिर्देशक गौरव यादवले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनास्थल वरपरका सीसीटीभी दृश्य तथा अन्य प्राविधिक प्रमाणको सहयोगमा जॉंच भइरहेको बताए। आक्रमणको कारण तथा आरोपीहरूको पहिचान जॉंच पूरा भएपछि स्पष्ट हुने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी