
कोलकाता, १८ सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालका नन्दीग्राम र रेजीनगर विधानसभा क्षेत्रमा हुने उपचुनाउअघि भारत निर्वाचन आयोगले ‘अल इन्डिया तृणमूल कांग्रेस’ को नाम र आरक्षित ‘जोडा फूल’ चुनाउ चिह्नको प्रयोगमा अन्तरिम रोक लगाएको छ। आयोगको निर्णयपछि ममता ब्यानर्जी र ऋतब्रत ब्यानर्जी नेतृत्वका दुवै गुटले आगामी ६ अक्टोबरमा हुने उपचुनाउमा मूल पार्टीको नाम र चुनाउ चिह्न प्रयोग गर्न पाउने छैनन्।
आयोगले दुवै गुटलाई शुक्रबार बिहान ११ बजीसम्म आफूले रोजेका तीनवटा वैकल्पिक नाम तथा चुनाउ चिह्नको प्राथमिकताक्रम बुझाउन निर्देशन दिएको थियो। आयोगले हालका लागि दुवै पक्षलाई छुट्टाछुट्टै नाम र आफ्नो स्वतन्त्र सूचीबाट चुनाउ चिह्न उपलब्ध गराउने व्यवस्था गरेको छ। यो व्यवस्था पार्टीको नाम तथा चुनाउ चिह्नमाथिको विवादमा अन्तिम निर्णय नभएसम्म कायम रहनेछ।
स्रोतका अनुसार, ममता ब्यानर्जी नेतृत्वको गुटले बिहीबार राति नै निर्वाचन आयोगलाई वैकल्पिक नाम र चुनाउ चिह्नसम्बन्धी आफ्नो प्रस्ताव इमेलमार्फत पठाएको छ। उक्त गुटले प्रस्ताव गरेका नाम र चिह्नबारे भने तत्काल सार्वजनिक गरिएको छैन।
अर्कोतर्फ, ऋतब्रत ब्यानर्जी नेतृत्वको गुटले शुक्रबार बिहान राष्ट्रिय कार्यसमितिको बैठक गरी वैकल्पिक नाम र चुनाउ चिह्नबारे छलफल गरेको थियो। यस गुटले नयाँ नाममा ‘तृणमूल’ शब्द कायम राख्ने पक्षमा रहेको जनाइएको छ। स्रोतका अनुसार, ‘राष्ट्रवादी तृणमूल कांग्रेस’ र ‘लोकतान्त्रिक तृणमूल कांग्रेस’ नाम प्रस्ताव गरिएका छन्।
निर्वाचन आयोगले आफ्नो अन्तरिम आदेशमा दुवै पक्षले आफूलाई वास्तविक तृणमूल कांग्रेस भएको दाबी गरेकाले पार्टीको नाम, चुनाउ चिह्न तथा संगठनमाथिको अधिकारसम्बन्धी विवादको विस्तृत निर्णय आवश्यक रहेको जनाएको छ। अन्तिम निर्णय सम्बन्धित निर्वाचन कानुन तथा निर्वाचन चिह्नसम्बन्धी व्यवस्थाअनुसार गरिनेछ।
यस निर्णयपछि आगामी नन्दीग्राम र रेजीनगर उपचुनाउमा दुवै गुटले छुट्टाछुट्टै नाम र चुनाउ चिह्न लिएर प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। दुवै गुटले यसअघि नै आ-आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्।
आयोगको निर्णयपछि ममता ब्यानर्जी नेतृत्वको गुटका नेताहरूले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। अर्कोतर्फ ऋतब्रत बनर्जी गुटले आयोगको अन्तरिम निर्णयको स्वागत गरेको छ। दुवै पक्षले पार्टीको वास्तविक संगठनात्मक हैसियतबारे आ-आफ्ना दाबी राख्दै आएका छन्।
यसअघि आयोगले दुवै गुटबाट पार्टीको संगठन, नेतृत्व तथा नाम र चुनाउ चिह्नमाथिको दाबीसम्बन्धी दस्तावेज प्राप्त गरेको थियो। आयोगले अहिलेका लागि दुवै पक्षलाई समान आधारमा उपचुनाउमा सहभागी गराउने उद्देश्यले अन्तरिम व्यवस्था गरेको जनाएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी