रानीपुल सरस्वती विद्या निकेतन ‘वन्दे मातरम्’ को सामूहिक गायन कार्यक्रममा सहभागी
रानीपुल सरस्वती विद्या निकेतन


गान्तोक, 25 सेप्टेम्बर (हि.स.)। विद्या भारतीअन्तर्गत सरस्वती विद्या निकेतन, रानीपुलले ‘नमामि भारतम्- वन्दे मातरम्‌को १५० वर्ष’ कार्यक्रम शुक्रबार रानीपुलस्थित पीएम श्री बिरस्पति परसाई सरकारी वरिष्ठ माध्यमिक विद्यालयको सभागारमा आयोजना गर्यो।

‘वन्दे मातरम्’ को १५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा देशभरका विद्या भारतीका विद्यालय तथा संस्थाहरूसँगै एकै समयमा राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को सामूहिक गायन गरिएको थियो। यो कार्यक्रम ‘वन्दे मातरम्’ को सबैभन्दा ठूलो एकैसमयको सामूहिक गायनका रूपमा गिनिज वर्ल्ड रेकर्डसम्बन्धी पहलको हिस्सा रहेको बताइएको छ।

कार्यक्रम बिहान १०ः३० बजी प्रमुख अतिथि समग्र शिक्षा, शिक्षा विभाग, गान्तोकका निर्देशक अम्बर दास छेत्री, विद्या भारतीका महासचिव बिजय धिताल शर्मा, संयोजक मोहन शर्मा तथा अन्य अतिथिद्वारा दीप प्रज्वलन गरी शुरु भएको थियो।

कार्यक्रममा विद्या भारती सिक्किमका महासचिव विजय धिताल शर्माले ‘वन्दे मातरम्’ को १५० वर्षको ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारे। जसपछि, बिहान ठीक ११ बजी कार्यक्रममा सहभागी सबैले देशभरका सहभागी विद्या भारती विद्यालय तथा संस्थाहरूसँगै ‘वन्दे मातरम्’ को सामूहिक गायन गरे। कार्यक्रममा प्रमुख अतिथि अम्बर दास छेत्रीले विद्यालय समुदाय तथा अतिथिहरूको सहभागिताको प्रशंसा गर्दै सम्बोधन गरेका थिए।

कार्यक्रममा विद्या भारती सिक्किमका पदाधिकारी, सिक्किम विश्वविद्यालयका प्रतिनिधि, रानीपुल पुलिस चौकीका पुलिस निरीक्षक, कृषि तथा बागवानी अभियान्त्रिकी तथा प्रविधि महाविद्यालयका प्रतिनिधि, सिक्किम कल्याण आश्रमका प्रतिनिधि, मारवाडी युवा मञ्चका प्रतिनिधि, स्थानीय व्यवसायी तथा छेउछाउका समुदायका सदस्यहरूको पनि उपस्थिति थियो।

आयोजकका अनुसार, कार्यक्रमले देशभक्ति, एकता, सांस्कृतिक सम्पदा तथा राष्ट्रिय गौरवका मूल्यलाई प्रवर्द्धन गर्नुका साथै विद्यार्थीलाई राष्ट्रियस्तरको सामूहिक कार्यक्रमको हिस्सा बन्ने अवसर प्रदान गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande