वार्ता सफल भयो, तिहारपछि नोभेम्बरमा दोस्रो वार्ता हुनेछ: राजु विष्ट
वार्ता सफल भयो


खरसाङ, 12 अक्टोबर (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीको नर्थ ब्लकमा आज भारतको गृहमन्त्री अमित शाहसितको बहुप्रतीक्षित वार्तापछि बाहिर आएर पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङका भाजपा सांसद राजु विष्टले आजको वार्ता सफल भएको र तिहारपछि आगामी नोभेम्बर महिनामा दोस्रो वार्ता हुने बताएका छन्। सांसद राजु विष्टले आजको वार्ता भारतीय गोर्खाहरुको लागि ऐतिहासिक रहेको र पहिलोपल्ट कुनै आन्दोलन बिना नै अनि कुनै बन्द बिना नै भारतको गृहमन्त्रीसित लगभग एक घण्टासम्म वार्ता भएको बताए।

उनले यो वार्ता गोर्खाहरूको लागि ऐतिहासिक र सफल बनेको बताउँदै वार्तामा गोर्खाहरूसित सम्बन्धित सबै मागहरू गृहमन्त्रीसमक्ष राखेको र गृहमन्त्रीले पनि सबै मागहरूमाथि भारत सरकारले इमान्दारिता साथ हल गर्न प्रयास गर्ने आश्वासन दिएको बताए। सांसद विष्टले आजको वार्तामा भारत सरकार, भाजपा सांसद, विधायकहरू र भाजपाको घटक दलका प्रतिनिधिहरू उपस्थित थिए।

दुर्गा पूजाका कारण पश्चिम बंगाल सरकारको तर्फबाट मुख्य सचिव अथवा अन्य कुनै उच्च पदस्थ अधिकारीहरू उपस्थित हुन नसकेको, तर दिल्लीमा बंगालका रेसिडेन्सियल प्रतिनिधिले भने बैठकमा भाग लिएको बताइएको छ। तिहारपछि नोभेम्बरमा हुने दोस्रो वार्तामा बंगाल सरकारको प्रतिनिधिहरू पनि उपस्थित रहने र उनीहरूको कुरा सुनेपछि नै गृहमन्त्रीले ठोस निर्णय लिने आश्वासन दिएको सांसद विष्टले बताए।

सांसद विष्टले यो वार्तामा गृहमन्त्री समक्ष 2001 देखि कुनै पञ्चायत चुनाउ नभएको, 2017 देखि जीटीएमा चुनाउ नभएको, पहाड़मा भारतको संविधान लागू नभएको र गणतन्त्र नरहेको आदि कुराहरू राखेको बताएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande