गेजिङ, 20 नोभेम्बर (हि.स.)। योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत ताथाङ खेल मैदानमा आयोजित राज्यस्तरीय साकेवा कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले साकेवा पर्वको राज्यवासीहरूमा हार्दिक बधाई साथै शुभकामना व्यक्त गरे। मुख्यमन्त्रीले साकेवा पर्व राई समुदायको निम्ति अति नै महत्वपूर्ण रहेको बताउॅंदै चुनाउपछि योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको यो आफ्नो पहिलो भ्रमण रहेको जानकारी गराए।
मुख्यमन्त्रीले खेचीपेरी झीलको सुन्दरीकरणको निम्ति चार करोड रूपियॉं धनराशि आवण्टन गरिसकेको जानकारी गराउँदै गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा यस निर्वाचन क्षेत्रका जनताले विधायक टीटी भोटियालाई भारीमतले विजयी गराएकोमा क्षेत्रका मतदाताहरूलाई धन्यवाद दिए। यसरी स्थानीय निर्वाचन क्षेत्रका जनताको माग अनुसार यस निर्वाचन क्षेत्रका विधायकलाई पर्यटन विभागको मन्त्रीको पदभार सुम्पिएको अवगत गराउँदै यस निर्वाचन क्षेत्रका 15 सयभन्दा अधिक बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराएको पनि उनले जानकारी गराए।
उनले यो सरकार बोल्ने मात्र होइन काम गरेर देखाएको उदाहरण प्रस्तुत गरेको दाबी गरे। चुनाउअघि घर निर्माणको निम्ति वितरण गरिएको टोकन अनुसार अब घर निर्माण कार्य शुरू गरिने बताए। विशेष गरेर गरीब परिवारलाई प्राथमिकता दिएर काम गर्ने मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा बताए। चुनाउभन्दा अघि वितरण गरिएका वाचाहरू विस्तारै पूरा गर्ने उनले वचन दिए। उनले अखिल किराँत राई संघ एक गैर सरकारी संस्था भएकोले यसलाई राजनीतिक चश्माले नहेरिदिने सुझाउ दिँदै संस्थालाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमाथि सबैले सोच्नु पर्ने आग्रह गरे।
एसकेएम सरकारले राज्यमा रहेका सबै समुदायलाई एक सुत्रमा बाँध्ने कोशिश गरेको र सफलता पनि हासिल गरेको मुख्यमन्त्रीले बताए। राई समुदायको भाषा, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै वर्तमान सरकारले कुनै पनि जातीय संगठनलाई भोट ब्याङ्ककोरूपमा कहिले पनि नहेरेको र नहेर्ने किटान गरे। उनले आगामी दिनमा गेजिङ जिल्लामा राई खिम निर्माणको निम्ति बजेट सत्रमा यसको निम्ति धनराशि छुट्याउने पनि वचन दिए। मनिदास राईलाई राई संस्कृतिको ओएसडी नियुक्त गर्ने घोषणा गर्दै मुख्यमन्त्रीले टाशीडिङ निर्वाचन क्षेत्रका विधायक टीटी भोटियाले राखेका मागहरूलाई सम्बोधन गर्दै यस विषयमा सकेसम्म सबै कामहरू गर्ने वचन दिए।
हिन्दुस्थान समाचार / बिशाल