एसडीएफ संविधानले दिएको हक र अधिकारको सुरक्षा गर्ने शान्तिकारी पार्टी हो: चामलिङले
एसडीएफ संविधानले दिएको हक र अधिकारको सुरक्षा गर्ने शान्तिकारी पार्टी हो: चामलिङले


गान्तोक, 15 अप्रेल (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले एसडीएफ पार्टी संविधानले दिएको हक र अधिकारको सुरक्षा गर्ने शान्तिकारी पार्टी हो भनेका छन्। उनले भने, पहिला हाम्रो सरकारकालमा संविधान दिएका सुरक्षा कवचहरू सम्पूर्ण रूपमा सुरक्षित थिए। एसकेएम सरकारले सिक्किमका सबै हक-अधिकार नष्ट गरेको, 371 एफलाई तरलीकरण गरेको, पुराना कानुनहरूको उल्लंघन गरेको दाबी गरे।

उनले एसकेएम सरकारले सिक्किमको शान्ति शृङ्खला भङ्ग गरेर जनतामा भयको वातावरण सिर्जना गरेको ठोकुवा गरे। उनले भने, अरु राज्यमा चोर, डाका र जंगली जन्तुसंग मान्छेले डराउनु पर्छ तर सिक्किममा सबै भन्दाबेसी सरकारसँग डराउनुपर्छ, यस्तो संसारमै कही कतै छैन। उनले एसकेएम सरकारलाई जनविरोधी सरकारको संज्ञा दिए।

सोमवार दिउँसो सिङ्ताममा एसडीएफ पार्टीको चुनावी जनसभालाई सम्बोधन गर्दै एसडीएफ नेता चामलिङले भने, हामी आज सिक्किम बचाउने महाअभियानमा छौं। सिक्किम बचाउनु भनेको हाम्रो माटो बचाउनु भनेको हो। हाम्रो संविधानले दिएको सबै हक र अधिकार बचाउनु हो।

चामलिङले एसकेएम सरकार आएपछि सबै नयाँ र बाहिरका मान्छेहरूले राज चलेको बताउँदै भने, बाहिरका व्यापारीहरूले जताततै मलहरू बनाउँदैछन्, तर हामी सरकारमा आएपछि सबै मलहरू बन्द गर्नेछौं अनि सिक्किमे पुराना व्यपारीहरूको व्यापारको सुरक्षा गर्नेछौं। उनले भने, हाम्रो सरकार आएपछि तपाईहरूको व्यापार फेरि पहिला कै जस्तो फस्टाएर जानेछ।

एसडीएफ नेताले भने, सरकारको काम भनेको जनताको ज्यानमालको सुरक्षा गर्नु हो। तर जनतामाथि ढुङ्गा हान्ने, गाडी फोर्ने, धम्काउने सरकारको काम पनि होइन धर्म पनि होइन। मुख्यमन्त्रीले जनतालाई धम्की दिएको आरोप लगाउॅंदै उनले भने, यदि फेरि एसकेएम सरकार नै फर्केर आयो भने सिक्किम नर्थ कोरिया जस्तै हुनेछ अनि मुख्यमन्त्री श्री गोले किम जोन जस्तै हुनेछन्। यसैले यो सिक्किम बचाउने अन्तिम अवसर हो। यसैले सिक्किमका जनताले सिक्किम र सिक्किमेको भविष्य बचाउने छन् भन्ने कुरोमा हामी विश्वस्त छौं।

जनसभालाई खाम्दोङ सिङ्गतामका उम्मेदवार डा. मणिकुमार शर्मा, लोकसभा उम्मेदवार पीडी राई अनि प्रवक्ता केशव सापकोटाले पनि सम्बोधन गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande