हामी हाम्रो प्यारो क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने आफ्नो सङ्कल्पमा अडिग रह्यौं: अनित थापा
हामी हाम्रो प्यारो क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने आफ्नो सङ्कल्पमा अडिग रह्यौं: अनित थापा


दार्जीलिङ, 24 अप्रेल (हि.स.)। दार्जीलिङको चुनावी अभियानको आज समापन भयो। हामी गर्वसँग घोषणा गर्छौं कि यो सम्पूर्ण अवधिमा हाम्रो क्षेत्रमा हिंसाको एउटै पनि घटना घटेन। कसैको पनि चुनावी अभियानलाई क्षति पुऱ्याइएन। बङ्गालको अन्य ठाउँमा चर्को गर्मीले उत्पात मच्चाए तापनि दार्जीलिङको तापक्रम र राजनैतिक वातावरण, दुवै हिसाबले उल्लेखनीय रूपमा चिसो रह्यो। उक्त कुरा जीटीए प्रमुख कार्यपाल एवं भागोप्रमो केन्द्रिय अध्यक्ष अनित थापाले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।

उनले भने, विगत आठ वर्षदेखि पहाडमा शान्ति कायम गर्ने र दार्जीलिङलाई हडतालमुक्त क्षेत्रको रूपमा स्थापित गर्ने हाम्रो दृढ प्रतिबद्धता नै हाम्रो पहिलो प्राथमिकता रहेको छ। कतिपय पक्षबाट उक्साहट आए तापनि, हामी हाम्रो प्यारो क्षेत्रमा शान्ति र स्थिरता कायम गर्ने आफ्नो सङ्कल्पमा अडिग रह्यौं। हाम्रा आदरणीय राजनैतिक समकक्षीहरूसँग, हामी चुनावी प्रतिद्वन्द्विताको दायराभन्दा बाहिर भाइचाराको हात बढाउँछौं।

थापाले अघि भने, हाम्रो प्रतिस्पर्धा मतपेटिकामै समाप्त हुन्छ र भोलि दार्जीलिङको भलाइका लागि हामी एकजुट हुनैपर्छ। हाम्रो सामूहिक ध्यान राजनैतिक मतभेदभन्दा माथि उठेर दार्जीलिङ पहाडको समग्र विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। अप्रेल २६ मा हुने मतदानको दिन नजिक आउँदैछ। अन्य दलले फैलाएका झूट र छलको विरुद्धमा मात्र होइन, हामीले सामूहिक रूपमा गोर्खा समुदायको उन्नति र हाम्रो क्षेत्रको दिगो शान्ति र प्रगतिका लागि राखेको भिजनलाई पुष्टि गर्न पनि मतदान गरौं।

अनित थापाले सबै मतदाताहरूलाई सम्बोधन गर्दै भने, आउनुहोस्, हामी सबै मिलेर सकारात्मकता र सहयोगको भावनालाई कायम राखौं। दार्जिलिङ पहाड अनि यहाँका बासिन्दाहरूको उज्ज्वल भविष्यको निम्ति कर्मशील बनौं।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande