29 माइल नजिक पैह्रो गएर राष्ट्रिय राजमार्ग 10 फेरि बन्द
NH-10-Close


टिस्टा, 01 अगस्त (हि.स.)। पैह्रोको कारणले आज फेरि पनि राष्ट्रिय राजमार्ग 10 बन्द भएको छ। राष्ट्रिय राजमार्ग 10 को 29 माइल नजिकमा पैह्रो गएपछि सिक्किमदेखि सिलगढी जाने रोड पूर्ण रूपमा बन्द भएको छ। 29 माइलमा माथिपट्टिबाट पैह्रो र हिलो झरेर एउटा कारलाई हिलोले पुरेको छ भने रोडभरि पैह्रो र हिलो जमेर रोड पूर्ण रूपमा बन्द भएको थाहा लागेको छ।

कारलाई पैह्रोले पुरे पनि ज्यान मालको कुनै क्षति नभएको बताइएको छ। आज बेलुकाको समय फेरि अचानक परेको पानीले 29 माइलमा पैह्रो गएपछि साना गाड़ीहरूको लागि खोलिएको राष्ट्रिय राजमार्ग 10 एक दिनपछि नै फेरि बन्द भएको छ। अचानक परेको पानीले टिस्टा नदीको जल स्तर पनि निक्कै बढेको छ। पैह्रोले बन्द भएको एनएच 10 खोलाउन जेसीबी लगाइएको छ।

पैह्रोले यातायात ठप्प बनेपछि सड़कभरि गाड़ीहरूको तॉंत देखिएको थियो। सिक्किमबाट सिलगढी जाने सबै गाड़ीहरू राष्ट्रिय राजमार्ग बन्द भएपछि मङ्पु भएर कुदिरहेको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक / बिशाल


 rajesh pande