गान्तोक, 01 अगस्त (हि.स.)। राज्यमा यसपाली पनि सारथी सम्मान दिवस भव्यरूपमा पालन गरिने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा भोलि मनन केन्द्रमा यस कार्यक्रमको आयोजन हुने भएको छ। सो कार्यक्रमलाई लिएर तीव्र तयारी चलिरहेको छ भने यातायात विभागका सल्लाहकार तथा विधायक मदन सिञ्चुरी अनि विधायक तथा सल्लाहकार सञ्जित खरेल कार्यक्रमको तयारीका लागि जुटेका छन्।
मनन केन्द्र पुगेर यहाँ चलिरहेको कार्य प्रगितको निरीक्षण गर्नका साथै उनीहरूले सल्लाह, सुझाउ राख्दै आएका छन्। विभिन्न चालक बोर्ड तथा सङ्गठनका प्रतिनिधि सदस्यहरू पनि समन्वका लागि अघि आइरहेका छन् भने भोलि हुने कार्यक्रमलाई भव्य बनाउन सबै लागिपरेका छन्।
उल्लेखनीय छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले आफ्नो पहिलो कार्यकालमा नै ‘सारथी सम्मान दिवस’ पालन गर्न शुरु गरेको हो। मुख्यमन्त्री प्रेमसिंह तामाङको परिकल्पनामा पालन गर्न शुरू गरिएको सो दिवसले चालकहरूलाई सम्मान जनाउन तथा उनीहरूलाई थप हौसला प्रदान गर्ने लक्ष्य राखेको छ। प्रत्येक मानिसको जीवनमा चालकहरूको भूमिकाको महत्त्वलाई जोड़ दिँदै एसकेएम सरकारले यो पहल शुरू गरेको हो।
हिन्दुस्थान समाचार / प्रदीप / बिशाल