हिल प्लान्टेसन्स एम्प्लोइज युनियनको कालेबुङ जिल्ला कमिटी गठन
HPWU-Kalimpong


कालेबुङ, 16 सेप्टेम्बर (हि.स.)। हिल प्लान्टेसन्स एम्प्लोइज युनियनको कालेबुङ जिल्ला कमिटि गठन भएको छ। कालेबुङ जिल्ला अन्तर्गत रहेका विभिन्न चिया बगानका श्रमिकहरू लगायत युनियन सदस्यहरूको उपस्थितिमा आज कालेबुङ खण्ड 3 अन्तर्गत गोरूबथानको सोमबारे बजारमा युनियनको जिल्ला स्तरीय साधारण सभा सम्पन्न भएको थियो।

उपस्थित श्रमिकहरूले बगान स्तरमा भइरहेको समस्याहरूबारे आ-आफ्ना विचार राखे। सभामा चिया श्रमिकहरूको ज्यालाबारे गहन चर्चा गरियो। हालमा दैनिक 250 रुपियाँमा काम गर्नु परिरहेको गुनासो राख्दै उपस्थित श्रमिकहरूले न्यूनतम ज्याला तुरून्तै लागू गराउने माग उठाए।

आज सम्पन्न भएको सभाले कुल 11 जना सदस्यहरूको जिल्ला कमिटी गठन गरिएको छ। यस कमिटीको संयोजकको पदमा अनुपा तामाङलाई चयन गरिएको छ। यस समितिले जिल्लाको चिया र सिङ्कोना बगानहरुको स्थितिबारे विस्तृत जानकारी लिनसाथ आइपरेको समस्याहरुमा हस्तक्षेप गर्ने छ। अनि वैधानिक न्यूनतम ज्याला र पर्जापट्टा चालू गर्ने मागमा प्रचार प्रसार जारी राख्ने भएको जानकारी छेवाङ योञ्जनले दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande